भारतमा कोरोना सङ्क्रमितमा ‘पहेँलो ढुसी’को सङ्क्रमण

काठमाडौं :भारतमा कोरोना सङ्क्रमण निको भएका व्यक्तिमा पहेँलो ढुसी (एल्लो फङ्गस) को सङ्क्रमण पनि देखिएको छ । यसअघि कालो ढुसी र सेतो ढुसीको समस्या भारतका धेरै राज्यमा देखिएकोमा उत्तर प्रदेशको गाजियाबाद जिल्लामा पहिलो पटक पहेँलो ढुसीको सङ्क्रमण भेटिएको नाक कान घाँटी विशेषज्ञ वीपी त्यागीले पुष्टि गरेको समाचारसंस्था एएनआइले जनाएको छ ।

४५ वर्षमा पुरुषमा पहेँलो ढुसीको समस्या देखिएको हो । पहेँलो ढुसीको सङ्क्रमण भएका व्यक्तिमा निद्रा बढी लाग्ने भोक कम लाग्ने र तौलमा अस्वाभाविक कमी आउने जस्ता लक्षण देखिएको विशेषज्ञ त्यागीले बताए । यो ढुसीको सङ्क्रमण बढ्दै जाँदा घाउबाट पीप बग्नु, घाउहरू निको हुन ढिलो हुनु, कुपोषण तथा इन्द्रीयहरूले काम गर्न नसक्ने जस्ता समस्या हुने उनले बताए।

उनले भने ‘पहेँलो ढुसी एक घातक रोग हो किनभने यो आन्तरिक रूपमा सुरु हुन्छ त्यसैले यसका लक्षणहरू याद गर्नु महत्त्वपूर्ण छ । समयमा लक्षणहरूको ख्याल नगर्दा आउने समस्याले यस रोगको निदानमा धेरै कठिनाइ देखिएको छ ।’ कोरोना सङ्क्रमण निको भएका व्यक्तिमा दुई महिनापछि पनि विभिन्न किसिमका ढुसीको सङ्क्रमण देखिएको छ ।