नयाँ ट्याक्सीको दर्ता नखोल्दा यात्रु मर्कामा, सरकारद्धारा बेवास्ता 

मुलुकमा राजनीतिक परिवर्तन भयो, समय कहाँबाट कहाँ पुगिसक्यो । तर, ट्याक्सी चालकले यात्रुलाई गर्ने व्यवहार परिवर्तन भएन् । ट्याक्सी चालकको रुखो व्यवहारबाट सबै आजित भइसकेका छन् । ट्याक्सीको ठगीधन्दा र मिट्रमा नहिँड्ने कार्यमा रोक लाग्न सकेको छैन् । सहजता र आपतविपत पर्दा चाहिने ट्याक्सी यात्रुले भनेको ठाँउसम्म जान मान्दैन् । हिजो दिँउसो १२ बजेतिरको कुरा हो । मैतीदेवी मन्दिरअगाडि चार वटा ट्याक्सी पार्किङ गरेर बसेको थियो ।

एक महिलाले आफ्नो झण्डै आठ वर्षको छोरी पिठ्युमा बोकेर आइन् । तिनको छोरी एकदमै सिकिस्त देखिन्थिन् । आर्थिक अवस्था नाजुक देखिने ती महिलाले एकै ठाँउमा गफिएर बसेका ट्याक्सी चालकलाई महाराजगञ्जस्थित टिचिङ अस्पताल पुर्याइदिन भनिन् । चालकले सात सय रुपैयाँ मागे । उनले ट्याक्सीको मिटरमा उठेको पैसा दिन्छु भनिरहिन् । तर, चालक मानेनन् । त्यहीमध्ये भएको एक चालकले पाँच सय रुपैयाँ दिन भने । दुई सय रुपैयाँ भएनि घट्ने भएपछि उनी त्यही ट्याक्सीमा गइन् ।

सरकारले ट्याक्सीमा मिटर जडान गरेको छ । जब चालक मिटरमा हिँड्न मान्दैनन् भने त्यो के काम ? कसैको छोरी सिकिस्त बिरामी छ तर चालकले पैसा मात्रै देखेका छन् । पैसा नभएपनि मानवताको नाताले पुर्याइदिन त सक्थे । जस्तो परिस्थिति भएनि ट्याक्सी चालकलाई मोलमोलाइ नगरिकन चित्त बुझ्दैनजस्तो छ । मैतीदेवीबाट डिल्लीबजार, चारखाल, नक्साल, वालुवाटार हुँदै शिक्षण अस्पताल पुगिन्छ । मैतीदेवीबाट शिक्षण अस्पताल जम्माजम्मी चार किलोमिटर होला ।

सरकारले तोकेको भाडाअनुसार ट्याक्सी चढ्नेबित्तिकै यात्रुले ५० रुपैयाँ सेवाशुल्क तिर्नुपर्छ । त्यस्तै, प्रत्येक किमि ५० रुपैंया तोकिएको छ । मिटरमा गएको भए दुई सयदेखि दुई सय ५० रुपैयाँ तिरे पुग्थ्यो । तर, चालकले दोब्बर लियो त्योपनि दिँउसै । अझै घण्टौं मोलमोलाई गरेर । गाउँबाट आएर सामान्य काम गरेर बसिरहेका सर्वसाधारणसंग कहाँबाट त्यत्रो भाडा तिर्ने पैसा हुन्छ ? बिरामी परेर मान्छे मर्न थालिसकेको हुन्छ तर ट्याक्सी चालकको मोलमोलाइ सकिँदैन् ।

यात्रुले मिटरमा उठेजति पैसा दिन्छु भन्दा पनि ट्याक्सी चालक मान्दैनन् । ट्याक्सीको भाडा चालकको जिब्रोमा छ । सरकारले तोकेको भाडाको धज्जी उडाइएको छ । हरेक अस्पतालअगाडि ट्याक्सीले यात्रुसंग पैसाको पार्किङ गरिरहेको देखिन्छ । त्यस्तै, चोकचोकमा पनि मोलमोलाइ भइरहेको छ । भनेकोजति भाडा पाएन् भने चढेको यात्रुलाई समेत ट्याक्सीबाट ओरालिदिन्छन् । पठाओ र मेट्रोमार्फत चलेको ट्याक्सीले पनि मनलाग्दी पैसा लिएको छ ।

पठाओमार्फत ट्याक्सी बुक गर्यो भने शुरुमै १७७ रुपैयाँ तिर्नुपर्छ । मेट्रोले ९९ रुपैयाँ सेवाशुल्क लिने गरेको छ । जबकी सरकारले तोकेको सेवाशुल्क ५० रुपैयाँ मात्रै हो । सरकार कहाँ छ ? यिनीहरुले खुलमखुल्ला जनता ठगिरहेका छन् । पठाओ र मेट्रोले लुटको धन्दा मच्चाएका छन् । ५० रुपैयाँ सेवाशुल्कको दरले यात्रुले दैनिक पाँच करोडभन्दा बढी ट्याक्सी चालकलाई फोगट्टे तिरिरहेका छन् । ट्याक्सी गुडेको पनि हुँदैन्, पेट्रोल पनि खर्च भएको हुँदैन् ।

५० लाई हटाएर म शुन्यबाट ट्याक्सी किनेर चलाउँछु । अहिले प्रत्येक किमि ५ छ त्यसलाई घटाएर २० रुपैयाँमा चलाउँछु । यात्रुलाई सेवा दिन्छु, राज्यको ऐनकानुन मान्छुभन्दा पनि सरकारले नयाँ ट्याक्सी खोल्दैन् । अहिले सञ्चालनमा रहेका ट्याक्सी व्यवसायीले विभिन्न बहाना बनाएर सरकारको घुँडा टेकाइरहेका छन् । ट्याक्सी व्यवसायीले २०६९ सालदेखि ट्याक्सीको भाडा नबढाएको भनेर ठगी गर्दै आएका थिए । सरकारले भाडा नबढाउँदा मिटरमा हिँड्न नसक्ने भन्दै ट्याक्सी व्यवसायीले यात्रु ठग्दै आएका थिए ।

२०६९ सालमा प्रत्येक किलोमिटर २९ रुपैयाँ थियो । सरकारले २०७० सालमा बढाएर ३२ रुपैयाँ किलोमिटर बनाइदियो । २०७२ मा बढाएर ३५ र २०७५ मा बढाएर प्रत्येक किमि ३९ पुर्याइदियो । सरकारले तोकेको भाडाभन्दा बढी तिर्न यात्रु बाध्य थिए । एकातिर सरकारले भाडा बढाएको बढ्यै थियो, अर्कोतिर ट्याक्सी व्यवसायीले विभिन्न बहाना बनाएर यात्रु ठगिरहेका थिए । मिटरमा दुई सय रुपैयाँ उठ्ने बाटोमा ट्याक्सी व्यवसायीले पाँच सय रुपैयाँ लिएर ठगिरहेको थियो ।

बागमगी प्रदेशका तत्कालिन श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले २०७९ वैशाख १ गतेदेखि लागु हुनेगरी ह्वात्तै भाडा बढाइदिए । १४ उठ्ने ठाँउमा ५०, प्रत्येक किमि ३९ बाट बढाएर ५० रुपैयाँ पुर्याइदिए । ट्याक्सी व्यवसायीको दबाब र आर्थिक चलखेलको प्रलोभनमा परेर सरकारले यत्रो भाडा बढाइदियो । ट्याक्सी व्यवसायीको मागअनुसार भाडा बढेको छ । तर, अझैपनि ट्याक्सी चालकहरु मिटरमा यात्रु बोक्दैन् । बिरामी, बालबच्चा ट्याक्सीमा बोक्न मान्दैनन् ।

यात्रुले भनेको ठाँउमा जान अहिलेपनि आनाकानी गर्छन् । अनि सरकारले भाडा बढाएको के अर्थ लाग्यो ? मिटरमा नहिँड्ने ट्याक्सीलाई ट्राफिक महाशाखाले कारबाही गरेको छैन् । ट्राफिकहरु जनताले तिरेको करबाट तलबभत्ता खान मात्र आएकोजस्तो देखिन्छ । अनुगमनमा कुनै ट्राफिक खटिएको देखिँदैन् अनि कसलाई कारबाही गर्ने ? मँहगो भाडा तिरेरपनि उही थोत्रा ट्याक्सीमा यात्रा गर्नुपर्छ । ट्याक्सीमा हो कि ट्याक्टर एकछिन त यात्रु आफैं पनि अल्मलिन्छन् । सलाईको बट्टा आकारका ट्याक्सीमा तीन जना मोटा मान्छे अट्दैनन् । तीन जना बस्यो भने ट्याक्सीले उकालोमा तान्नै सक्दैन् । ट्याक्सीबाट यात्रुले अलिकति पनि सेवासुविधा पाएका छैनन् ।

ट्याक्सी होचा हुँदा टाउको र घुँडा एकैठाँउमा जोडाएर बस्नुपर्ने हुन्छ । यस्ता सवारीमा यात्रुले चर्को शुल्क तिर्नुपरिरहेको छ । ट्याक्सीमा एकाधिकारमा कारण विकृति मौलायो । ट्याक्सी चालकको बोलीबचन र बानी व्यवहारमा सुधार आएन् । चालकहरु एकदमै दादागिरी देखाउँछन् । उपत्यकाभित्र सबै ७९ सिसीको मारुती र अल्टो ट्याक्सी छ । उपत्यकामा जनसंख्या करोड छ तर ट्याक्सीको संख्या ९ हजार मात्र छ । २०४८ देखि २०७९ सालसम्म एउटै व्यवसायले व्यवसायी गर्दै आएका छन् ।

नयाँ फेरिएका छैनन् । ट्याक्सीको संख्या पनि उति नै छ, मान्छे पनि उही नै हो । २०४८ सालमा दुई लाखमा नयाँ गाडी किनेर ट्याक्सीमा दर्ता गरेर सञ्चालनमा ल्याएका व्यक्तिले आफैंले चलाएर भाँडामा लगाएर करोडौं कमाइसकेका छन् । अहिले पनि २० वर्षे ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेट १२ लाखमा बिक्री हुन्छ । एउटै व्यक्तिले ३२ वर्ष व्यवसाय गरिसकेका छन् । फेरि उक्त नम्बरमा अर्को २० वर्ष व्यवसाय गर्दा एउटै व्यक्तिले ५२ वर्ष व्यवसाय गर्छ ।

जनसंख्या बढेको बढ्यै छ, ट्याक्सीको संख्या बढ्दैन् । ट्याक्सीमा खुला प्रतिस्पर्धा भएको छैन् । ट्याक्सीमा अहिले पनि एकाधिकार छ, सिण्डिकेट तोडिन सकेको छैन् । सरकारले सिण्डिकेट हटाएको दाबी गरेको छ । तर, अहिलेसम्म नयाँ ट्याक्सीको दर्ता खुलेको छैन्, किन ? जनतालाई भ्रममा पार्ने काम मात्र भइरहेको छ । ट्याक्सीको परमिट उपत्यकामा मात्रै छ । यात्रु बोकेर ट्याक्सी चक्रपथबाहिर जान मान्दैन् । चक्रपथ बाहिरको बस्ती ट्याक्सी चढ्नबाट वञ्चित भएका छन् ।

सात वटै प्रदेशमा नयाँ ट्याक्सीको दर्ता खुलेको छैन् । एयरपोर्टमा रहेको हरियो प्लेटको ट्याक्सीको दर्ता पनि बन्द पनि छ । २०७ वटा ट्याक्सी सञ्चालनमा रहेको एयरपोर्टमा २०५० सालदेखि सिण्डिकेट छ । एयरपोर्टमा चल्ने ट्याक्सीमा मिटर छैन् । एयरपोर्टबाट नयाँ बानेश्वर ल्याएको २५ सयदेखि तीन हजार रुपैयाँ लिन्छ । विदेशी वा स्वदेशीलाई होटलमा लगेर राखिदिएबापत पनि चालकले कमिशन खान्छन् । एयरपोर्ट छिर्नेबित्तिकै ट्याक्सीको ठगीधन्दा शुरु हुन्छ ।

विदेशबाट आए हुन् या स्वदेशी नै हुन् ट्याक्सी चालकलाई कमाउनसंग मतलब छ । अन्य मुलुकमा विलासी ट्याक्सी चलेका छन् । तर, हाम्रो मुलुकमा थोत्रा, कबाडी, झ्याम्पट ट्याक्सी बाटामा गुडिरहेका छन् । सरकारले लक्जरियस् ट्याक्सीको दर्ता नखोलिदिँदा प्रदुषण र दुर्घटना बढेको छ । थोत्रा ट्याक्सी धुवाको मुस्लो उडाएर गुडिरहेका हुन्छन् । दुर्घटनाको जोखिम बढेको छ । राजधानीको सुन्दरतामा हस आएको छ । नयाँ ट्याक्सीको दर्ता खोलिदिने भने यात्रु र राज्य दुवैलाई फाइदा हुन्छ ।

राज्यलाई राजस्व आउँछ, जनताले आपतविपत पर्दा ट्याक्सी पाँउछन् । पैसा तिरेर राम्रो ट्याक्सी यात्रुले चढ्न पाँउछन् । देशमै केही गरिखान्छु भन्नेले रोजगारी पाँउछन् । सरकारले नयाँ ट्याक्सीको दर्ता नखोल्दा अहिले सञ्चालनमा रहेका ट्याक्सी व्यवसायलाई मात्र फाइदा भएको छ । बागमती अञ्चलमा १३ वटा जिल्ला छ । तर, उपत्यकाको नजिकी जिल्ला काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ कही पनि ट्याक्सी पाँउदैन् । ट्याक्सी नहुँदा निजी प्लेटका गाडीको ठगीधन्दा मौलाएको छ । एक किमि बाटोमा निजी प्लेटका गाडीले दुई हजार लिएर ठगिरहेको छ ।

अनुसा थापा
भक्तपुर