सहकारीका बचतकर्ताले आक्रोशमा आफ्नो घर जलाउने डरले पुग्न थाले घरधनी बीमा कम्पनी

पहिलापहिला कोठा भाडामा लिएर बस्नेहरु भाडा तिर्न नसकेपछि कि त राति सामान लिएर भाग्थे कि त घरधनी नभएको समयमा । पछिल्लो समय सहकारी संस्थाहरु पनि घर भाडा तिर्न नसकेपछि यसरी नै भागिरहेका छन् । कति सहकारीहरु रातिनै संस्थाको सामान गाडीमा हालेर भागिरहेका छन् त कति सहकारीहरु घरधनी नभएको समयमा भागिरहेका छन् ।

जति पनि घरधनीहरुले आफ्नो घर सहकारीको अफिस सञ्चालन गर्न दिए । उनीहरुले एकतिरबाट एक वर्षदेखि घरभाडा पाएका छैनन् भने अफिसमा गुण्डादेखि पुलिससम्मै दिनहुँ आउने गर्छ । यता बचतकर्ताहरु पनि आफुले राखेको पैसा नपाएपछि संस्थामै गएर रुने, कराउने गर्छन् ।

दिनमा हजारौँ बचकर्ताहरु आफुले राखेको पैसा निकाल्न आउँछन् । तर, फिर्ता नपाएपछि झैँझगडा गर्ने गर्छन् । जसले गर्दा घरधनीलाई त समस्या परि नै रहेको त तर त्यहाँका छरछिमेकालाई पनि समस्या परिरहेको छ ।
त्यसैले, अहिले छरछछिमेकहरु सहकारी सञ्चालन गर्न दिने घरधनीहरुलाई यहाँबाट सहकारी हटाउनुस् भनेर दबाब दिइरहेका छन् । यता घरधनीहरुलाई एकतिरबाट छरछिमेकले दबाब दिइरहेको छ त उता सहकारीमा पैसा राख्ने बचतकर्ताहरुले पैसा फिर्ता नपाएपछि आक्रोशमा आएर आफ्नो घर त जलाउदैँन भनेर पिर परिरहेको छ ।

यता सहकारी संस्था भएकै छेउछाउमा भएको चिया पसल वा खानाखाजा घरको व्यापार भने फस्टाइरहेको छ । किनभन्दा मानिसहरु बिहान उठ्न नै नपाइ सहकारी पुग्छन् र भोक लागेपछि त्यहाँ वरपरका पसलहरुमा जान्छन् । घरधनीहरुले हिजो जसरी सहकारी अफिस राख्न भनेर खुशी भएर भाडामा दिए आज त्यति नै दुःखी उनीहरु भइरहेका छन् ।

अहिले धेरैजसो सहकारीहरुले आफ्नो संस्थाको बोर्ड पनि निकालिसकेका छन् । कति सहकारीमा त अध्यक्ष, सञ्चालक कोही अफिस नआउने र एकदुई जना कर्मचारी मात्रै पनि हुने गर्छन् । मिनपावर कम्पनीभन्दा पनि बढी ठगीधन्दामा सहकारी संलग्न भयो । पहिलापहिला मिनपावर कम्पनीले सर्वसाधारणलाई विदेश पठाइदिन्छु भन्दै लाखौँ रकम ठग्थ्यो आज सहकारीले पनि ब्याजको लोभ देखाई सर्वसाधारणको करोडौँ रकम ठग्यो ।

एक वर्षअघिसम्म मानिसहरु यो सहकारी मात्र भाग्यो, त्यसको यति रकम खायो भनेर मात्र मानिसहरु बजारमा भन्थे तर अहिले त बजारमा जतिपनि मानिसहरु बसेर कुरा गरिरहेका हुन्छन् उनीहरु सबै सहकारी भाग्यो वा पैसा फिर्ता गरेन भनेर मात्र भन्छन् । सहकारीमा पैसा राख्ने एक जना बचतकर्ताकै १० हजारदेखि ५ करोडसम्म रकम डुबेको भनिन्छ ।

अहिले मानिसहरु भन्छन्, मेरो सहकारीले १० लाख खाइदियो, उसको ५० लाख खाइदियो वा यसको यति खाइदियो भनेर भन्नेहरु यत्तिकै छन् । घरधनीहरु पनि अहिले सहकारी संस्थालाई आफ्नो घरबाट हटाउनका लागि वडा र नगरपालिकामा धाइरहेका छन् । झन् कति घरधनीले त एक वर्षदेखिको भाडा माया मारेर सहकारीलाई आफ्नो घर खाली गर्न भनिरहेका छन् ।

उनीहरु अब सहकारीका बचतकर्ताहरुले आफ्नो घर तोडफोड गर्छन् वा आगो लगाइदिन्छन् भनेर घरको बीमा गर्न बीमा कम्पनी धाइरहेका छन् । पहिलापहिला सहकारीका सञ्चालक, अध्यक्षलाई सर्वसाधारण जनता र घरधनीहरुले सर भन्थे तर अहिले सर्वसाधारणदेखि सहकारीकै कर्मचारीसमेत सहकारीका सञ्चालक र अध्यक्षलाई ठग,चोर भन्छन् ।

सहकारी भनेको ठग, चोरर दलाल हो भनेर अहिले घरधनीदेखि सर्वसाधारण जनताले समेत थाहा पाए । सहकारीका कर्मचारीहरु पहिला अफिसमा बस्दा कार्यालयको पोसक लगाएर पैसा उठाउन वा कार्यालयमा बस्थे तर अहिले उनीहरु बचतकर्ताको डरका कारण साधारण कपडा नै लगाउँछन्् । सहकारीहरुको ठगीधन्दा पछिल्लो समय एकाएक गर्दै पर्दाफास हुदैँ गयो ।

सर्वसाधारण जनताहरुले सहकारीको ठगीधन्दाबारे थाहा पाए त सञ्चारकर्मीहरुले पनि सहकारीको ठगीधन्दाबारेमा धमाधम न्यूज बाहिर ल्याइदिए । सञ्चारकर्मीले सहकारीको ठगीधन्दा बारेमा सत्य र तथ्यका साथ बाहिर समाचार ल्याइपछि सर्वसाधारणहरुले पनि सहकारीको ठगीधन्दाबारे विस्तृत रुपमा थाहा पाए । साथै, यो कुरा थाहा पाएपछि सर्वसाधारण जनताहरु पनि आफ्नो पैसा सहकारीबाट झिक्न गए ।

तर त्यसबेलासम्म कति सहकारीहरु भागिसकेका थिए त कति नभागेका सहकारीहरुले पनि झुल्याउने गरेर रातारात फरार भए । यसरी सहकारीहरुले सर्वसाधारणलाई लुट्यो, ठग्यो र कानूनलाई पनि छल्यो आज सर्वसाधारणको रकम कुम्लाएर भाग्यो । मानिसहरुले पनि ब्याजको लोभमा घरजग्गा बेचेर करोडौँ रुपैँया सहकारीमा राखे । तर अहिले सहकारी भागेपछि न उनीहरुसँग घरजग्गा नै छ न पैसा ।

त्यसैले, उनीहरु कि त आत्महत्या गर्न बाध्य भए त कि डिप्रेसनमा गए । सहकारीकै कारण अहिले धेरै मानिसहरुको रुवाबाँसी भयो । उनीहरु मर्नु कि बाँच्नु अवस्थामा पुगे । अहिले सहकारीमा काम गर्ने कर्मचारीहरु भटाभट जागिर छोडिरहेका छन् । बचतकर्ताले पैसा नपाएपछि कुट्छन् वा थुन्छन् भन्ने डरले उनीहरु महिनौँ दिनको तलब नै माया मारी जागिर छोडिरहेका छन् ।

दुई वर्षअघि सहकारीमा काम गर्ने बजार प्रतिनिधिलाई बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म काम गरेको ८ हजार तलब दिइन्थ्योतर अहिले १५ हजार दिन्छु भन्दा पनि कोही सहकारीमा काम गर्दैन । सहकारीका सञ्चालकहरु बजारबाट पैसा तै उठाएर ल्याउनुस् भन्छन् तर पैसा तै फिर्ता गर्दैन । त्यसैले पनि मानिसहरु अहिले सहकारीमा काम गर्न चाहदैँनन् ।

सहकारीहरुले ६ महिनादेखि कुनै पनि बचतकर्तालाई एक हजार पनि नदिएको कति मानिसहरु गुनासो गर्छन् । सहकारीमा पैसा निकाल्नेको भीड छ त राख्ने कोही छैन । सहकारीमा आफ्नो पुरानो खाता हुने पनि आफ्नो खाता बन्द गरिसकेका छन् त पुरानो खाता कसैले खोल्दैन । सहकारीका सञ्चालकहरुलाई बचतकर्ताहरुले भेट्न पाउदैँनन् । उनीहरुको मोबाइल पनि स्विच अफ हुन्छ त महिनौँ दिनसम्म कार्यालय पनि आउँदैनन् ।

कति सहकारीले त बाटोमा साग बेच्नेदेखि घरायसी काम गर्ने, नेता, सरकारी कर्मचारी र सञ्चारकर्मी समेतको पनि पैसा खाइदिएको सुनिन्छ । यसरी सबैको पैसा खाएर भाग्ने सहकारीविरुद्ध न सरकारले कुनै ‘एक्सन’ लियो न गृहमन्त्री रवि लामिछानेले नै के गरे । गृहमन्त्री रवि लामिछानेकै पार्टीको एक सांसदले सहकारीबाट करोडौँ रकम ठगेको पनि सुनिन्छ ।

अहिले सहकारीका सञ्चालक, अध्यक्षहरु जनताको पैसा फिर्ता गर्न नसकेपछि लुकेर, भागेर हिडिरहेका छन् तर प्रहरी प्रशासनले उनीहरुलाईै खोजेर सर्वसाधारणको रकम फिर्ता गर्न लगाइरहेका छैनन् । सहकारीकै कारण अब गरिबी बढ्ने छ र आत्महत्या गर्ने संख्या दोब्बर हुने भयो । जीवनभर रगतपसिना गरेर कमाएको पैसा सहकारीले खाइपछि र अन्य कुनै आम्दानीको स्रोत नभएपछि मानिसहरुले मर्नुबाहेक अरु कुनै विकल्प देख्दैँनन् ।

सहकारीले नडुबाएको अहिले घरनै छैन त पैसा फिर्ता नगरेको भन्ने मानिसहरुको कमी नै छैन । अशिक्षित, गरिब जनता त सहकारीको चन्गुरमा फसे नै तर सहकारी कर्मचारीसमेत सहकारीबाट बच्न पाएनन् । उनीहरुले ब्याजको लोभमा आफ्नो तलबसहित सञ्चयक कोषको समेत रकम निकालेर सहकारीमा ब्याज खानका लागि राखे तर अहिले न ब्याज ने भयो न साँवा । उनीहरुले कति सहकारीहरु आफ्रनै नातेदार वा साथीभाइले खोलेको भनेर पनि विश्वासको भरमा पैसा राखे तर अहिले आफ्रनै मान्छेलेसमेत उनीहरुको पैसा खाइदिएको छ । सहकारीमा आफुले राखेको पैसा फिर्ता नपाएपछि वा त्यँहाका कर्मचारी र सञ्चालकहरु भागेको थाहा पाएपछि मात्र उनीहरुले पनि बल्ल आफु डुबेको थाहा पाए ।

काठमाडौँमा एउटै घरमा सातवटासमेत सहकारीको अफिस रहेको देखिन्छ, भेटिन्छ । सहकारीहरुले पनि २२ देखि ३६ प्रतिशतसम्म ब्याज दिन्छु भनेर सर्वसाधारणलाई लोभ्याएर पैसा लिन्छ र पहिलाको केही दिनसम्म ब्याज दिन्छ पछि त्यो सबै लिएर भाग्छ । ब्याजको लोभमा सबै जनताले सहकारीमा पैसा राखे तर अहिले ब्याजको लोभमा साँवा नै डुब्यो ।

साथै, अब सर्वसाधारणलाई सहकारीमा पैसा नराख्नुस् भनेर नेपाल सरकार, विज्ञापन बोर्ड र सञ्चारकर्मीहरुले सचेत गाराउनुपर्छ । अब सर्वसाधारणलाई सहकारीको ठगीधन्दाबाट बचाउनुपर्छ । यदि सञ्चारकर्मीहरुले अझैँ पनि सहकारीमा पैसा नराख्नुस् वा सहकारीको ठगीधन्दा बाहिर नल्याउने हो भने जनताहरु अझैँ ठगिन्छन् ।

जनता सिधा छन् र अहिले पनि कति जनताहरु अशिक्षित छन् र उनीहरु अरुलाई छिटै विश्वास गर्छन् । अहिले पनि सहकारीको महासंघले केही सहकारीमा मात्र समस्या परेको भन्दै सञ्चारकर्मी र जनतालाई ढाँटिरहेको छ । त्यसैले, अब हामी सर्वसाधारण जनता पनि आफुले सहकारीमा राखेको पैसा पनि छिटो निकाल्यौँ र आफुले चिनेको नातेदारलाई पनि सहकारीमा पैसा नराख्नुस् भनेर सचेत गरौँ ।

आफु पनि डुब्नबाट बचौँ र अरुलाई पनि बचौँ र सहकारीको ठगीधन्दा बिरुद्ध बोलौँ । यदि हामीले समयमा आवाज नउठाएमा सहकारीहरुले अझैँपनि सर्वसाधारणलाई ठग्छन् र डुबाउँछन् । त्यसैले सरकारको मात्र भर नपरी बेलैमा आफैँ चलाखो हौँ । सरकारको भर पर्दापदैँ कहिले आफु डुबेको पत्तो लाग्दैँन ।सरकारले सहकारीलाई दिएको लाइसेन्स वा दर्ता सर्वसाधारण ठग्न वा लुट्न दिएको भनेर अहिले स्पष्ट भइसकेको छ । त्यसैले अब सबै सहकारीको दर्ता खारेज गरी बन्द गर्नुपर्छ ।

रुषा थापा
भक्तपुर