पोखराका मेयर आचार्यले स्वकीय सचिवबाट भतिजलाई हटाए

पोखरा : पोखराका मेयर धनराज आचार्यले आफ्नो स्वकीय सचिवबाट भतिज खेमराजलाई हटाएर एकीकृत समाजवादी कास्की उपाध्यक्ष पूर्ण लामालाई नियुक्त गरेका छन् । आचार्य मेयर भएसँगै भतिज खेमराजले स्वकीय सचिवको रुपमा काम गर्दै आएका थिए ।

मेयर आचार्यले स्थानीय तहका पदाधिकारी तथा जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धी ऐन विपरीत हुने गरी भतिजलाई स्वकीय सचिव राखेको भन्दै आलोचना भएको थियो ।

ऐनले मेयरले नायव सुब्बा सरहको स्वकीय सचिव राख्न पाउने व्यवस्था भएकोमा शाखा अधिकृत सरहको पदमा भतिजलाई नियुक्त गरेका थिए ।

मेयरले स्वकीय सचिव नियुक्त गर्ने निर्णय गरिसकेको भए पनि प्रमुख प्रशासकीय अधिकृत बुधबार बाहिर भएकाले बिहीबार मात्र पत्र थमाइने उनको सचिवालयले जनाएको छ ।

लामालाई कानुन अनुसार नै सचिवालय प्रमुखका रुपमा नियुक्त गरिएको मेयरको सचिवालयले जनाएको छ । लामा एकीकृत समाजवादी पार्टीको युवा संघको केन्द्रीय उपाध्यक्षसमेत हुन् । लामा पनि मेयर आचार्यसँगै एमाले त्यागेर एकीकृत समाजवादीमै आवद्ध भएका हुन् ।