वर्षमान पुनकाे कलेजो प्रत्यारोपण गर्नुपर्ने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ । ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत पूर्वअर्थमन्त्रीसमेत रहेका पुनलाई चिकित्सकहरूले कलेजो प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका हुन् ।

वंशाणुगत जण्डीसबाट पीडित उनको कलेजो ८५ प्रतिशतभन्दा बढी बिग्रिइसकेको हुनाले अबको उपचार प्रत्यारोपण नै रहेको सुझाव दिइएको हो । पुनले यसअघि थाइल्यान्ड र चीनमा उपचार गराउँदै आएका थिए । केही दिनअघि उनी आफ्नो निर्वाचन क्षेत्र रोल्पामा पुगेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन शनिबार रोल्पाबाट हेलिकोप्टरमा काठमाडौं फर्केर अस्पताल भर्ना भएका हुन् । उनलाई आज उपराष्ट्रपति नन्दबहादुर पुनले अस्पताल पुगेर स्वास्थ्यलाभको कामनासमेत गरेका थिए ।