सामाजिक समावेशीकरण र लैंगिक समानता :आशिष अस्लामी

एक पटक कुनै बस्तीमा दौड प्रतियोगिता आयोजना भयो र उक्त दौडमा सहभागी हुन युवाहरुका लागि आवेदन खुल्ला भयो । आयोजकले दौड आयोजना गर्दा उक्त बस्तीका सबै युवाहरुलाई सहभागी गराउने लक्ष्य लिएको थियो । आयोजकले पनि सवै युवाहरुलाई सहभागी हुन भनेर आवेदन खुलाएको हुँदा बस्तीका मुखियाले पनि सबैलाई सहभागी हुनका लागि अनुरोध गरे र सबै दौडमा सहभागी हुन तयार भए । दौड आयोजना हुने भएकाले दौड प्रतियोगिता हेर्न भनेर नजिकका बस्तीहरु तथा टाढा टाढा सम्मबाट मानिसहरु आए र विशिष्ट व्यक्तिहरुलाई पनि आतिथ्यता गरिएको हुँदा सबै आए । आयोजकले बस्तीको छेउमै रहेको खुल्ला चौरमा दौड आयोजना गर्याे ।

दौडकै बिचमा अपाङ्गता भएका एक युवा सहभागी थिए र उनको एउटा खुट्टा दुर्घटानामा परेर गुमेका कारण एउटा खुट्टाले मात्रै उभिएर दौडमा सहभागी हुन आएका थिए । उनी दौडमा सहभागी त भए तर सबलाङ्ग अन्य युवाहरुको तुलनामा दौडन सकेनन् र उनले उक्त दौडमा पहिलो, दोश्रो, तेश्रो वा सन्तवना कुनै हुन सकेनन् । दौडमा सहभागी हुने ती अपाङ्ग युवाको जोश र साहस देखेर उक्त बस्तीका मुखिया पुनः एक खुट्टा उचालेर एक खुट्टाले मात्रै दौडने नियम भएको दौड आयोजना गर्न भने र तुरुन्त सोही कार्यक्रमका युवाहरुलाई सहभागी गराएर एक खुट्टाले मात्रै टेकेर दौडने दौड प्रतियोगिताको आयोजना गरियो र अघिल्लो दौडमा कुनै स्थान हासिल गर्न नसकेका अपाङ्ग युवाले उक्त दोश्रो पटकको दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरे । पुरस्कार वितरण गरियो तथा दौड समाप्त भयो ।यो दौड प्रतियोगिताबाट हामीले न्याय, समानता र समावेशीकरण बारे केही बुझ्न सक्छौँ ।

के हो त समावेशीकरण ?

लोकतन्त्रमा सबैको समान हैसियत हुन जरुरी छ र यसलाई साझा फोरमको रुपमा विकास गरिनु पर्छ र यो व्यवस्थामा मानिसहरुलाई उन्नत समाजको निर्माण गर्नको लागि अभिप्रेरित हुन्छन् । यो समावेशीकरणले साझा शासन व्यवस्थाको अवधारणलाई बुझाउँछ । बहिष्करण तथा वञ्चितीकरणमा रहेको पेशा वर्ग समुदाय, क्षेत्र र बर्गका नागरिकहरुलाई राज्यको मूल धारमा ल्याउन समावेशीकरणले महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । संरक्षण, क्षतिपुर्ति, सामाजिक न्याय र समानुपातिक समानता समावेशीकरणका महत्वपूर्ण विषयहरु हुन् ।

यो सुशासनको पूर्व सर्त हो । यसले राज्य संचालनको सबै अंगहरु तथा क्षेत्रहरुमा सबैको सहभागिताको वकालत गर्छ र समावेशीकरण भन्ने शव्दले राज्य संयन्त्रमा हुने सहभागितामा समान र समतामूलक सहभागिताका बारेमा जनाउँछ । महिला, गरिब, दलित तथा पछाडि परेका अथवा पारिएका वर्ग वा समुदायलाई निर्णय प्रकृया, नीति निर्माण तथा कार्य सम्पादन प्रकृयामा अर्थ पूर्ण सहभागिता गराउने कार्य नै समावेशीकरण हो । आजकल हाम्रो बिचमा समावेशीकरण बारे निकै चर्चा हुने गरेको छ र समावेशीकरण राज्यको मंञ्चहरुमा बोलिने प्रत्येक भाषणहरुमा सुनिन्छन् तर व्यवहारमा कार्यान्वयन कतिको छ भन्ने कुरा चाहिँ मुख्य कुरा हो ।

हाम्रो समाज थोरै सहरीकरण तर धेरै ग्रामीण र पछौटेपन युक्त छ । ग्रामीण पछौटेपन समाजमा सार्वजनिक शिक्षालयहरु प्रशस्त छन् तर त्यहाँ प्रदान गरिने शिक्षा गुणस्तरीय बन्न सकेको छैन् । समाजमा एउटा घरमा बिहे वा ब्रतवन्धको भोज आयोजना हुँदा विद्यालयमा शिक्षक मात्रै हुनु पर्ने विद्यालयहरु पनि प्रशस्त मात्रामा छन् । यस्तो पछौटेपन भएको र ग्रामीण समाजहरुमा सामाजिक समावेशीकरण र लैंगिक समानता कायम हुन सकिरहेको छैन् । अतः राज्यले नै यसलाई निर्णय प्रकृया, नीति निर्माण तथा कार्य सम्पादन प्रकृयामा प्रथमिकतामा राखेर काम गर्नु पर्छ ।

समावेशीकरणका क्षेत्रहरु के के हुन् ?

१, आर्थिक समावेशीकरणः

यो समावेशीकरणको महत्वपूर्ण क्षेत्र हो । आर्थिक समावेशीकरणले विशेषगरी आर्थिक रुपले पछाडि परेका, भुमिहीन, गरिब, वृद्धवृद्धा, अशक्त लगायतको समूह समुदायलाई समाजमा समावेशीकरणको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । यी समूह समुदायको उत्थानका लागि सरकारले सामाजिक सुरक्षाको कार्यक्रमहरु ल्याएर कार्यान्वयन गरिरहेको छ । सामाजिक सुरक्षा भत्ताको कार्यक्रमले लाकप्रियता हाँसिल गरेको छ भने अब, भूमिको न्यायोचित वितरण, पुनः जग्गाको बर्गीकरण तथा कृषि योग्य, औधोगिक क्षेत्र तथा बस्ती क्षेत्र जस्ता न्यायोचित प्रणालीको विकास गरी प्रत्येक स्थानीय तहले जग्गाको वर्गीकरण गर्दा र भुमिहीनले आवश्यक जग्गा प्राप्त गरेको तथा एकीकृत बस्ती विकास हुने अवस्थामा आर्थिक समावेशीकरण हुन्छ ।

२, सामाजिक समावेशीकरणः

हाम्रो समाजमा आज पनि जातीय विभेद, रंग भेद, परिवारको आम्दानीको आधारमा गरिने विभेद तथा बेरोजगारीको समस्या व्याप्त छ । नेपालमा उसै पनि विद्यालय गएका करिब ६० प्रतिशत भन्दा बढी विद्यार्थीहरु क्याम्पसको कक्षाकोठा देख्नबाट बञ्चित छन् । क्याम्पस गएका विद्यार्थीहरुकमा पनि ग्राजुयट हुनेको प्रतिशत अत्यधिक कम छ । विद्यालय तथा युनिभर्सिटीले उत्पादन गरेका शिक्षित समुदाय पनि बजारमा ज्ञान, सिप र कार्यदक्षताको कमीले गर्दा रोजगारी संग जोडिन सकिरहेका छैनन् । शैक्षिक क्षेत्रसंग जोडिएका विद्यार्थी संगठन, प्राध्यापक संगठन, विद्यालय, क्याम्पसहरुले बजारमा बिक्न, टिक्न र सजिलै स्वरोजगार हुन सक्ने वैज्ञानिक शिक्षाको लागि आवाज उठाईरहेको छन् ।

आजकल धरै स्थानहरुमा प्राविधिक शिक्षा तथा तालिमका कार्यक्रमहरु विद्यालयहरुमा लागु हुँदा रोजगारीसंग जोडिन सहज तथा स्वरोजगारका क्षेत्रहरुको विकास भईरहेको छ । समाजमा रहेको बर्गीय विभेद अन्त्य गर्न हामीले परिवारमा सबै सदस्यहरु सहभागी गराई परिवारको काम, कार्यक्रमहरु निर्माण, सल्लाह आर्थिक योजना निर्माणका कार्यहरु गर्ने चेतनाको स्तर विकास हुन सक्दा मात्रै समाजमा वर्गीय विभेद न्यूनीकरण गर्न सकिन्छ । अन्तरजातीय विवाहलाई सार्वजनिक रुपमा सम्मान तथा दलित समुदायको थर परिवर्तनको कार्यक्रमहरुले पनि जातीय विभेद अन्त्य गर्दै सामाजिक समावेशीकरणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

३, शैक्षिक समावेशीकरणः

शैक्षिक समावेशीकरणमा नेपाल सरकारले सार्वजनिक शिक्षा कक्षा १० सम्म निःशुल्क भनेर भनिए तापनि ग्रामीण ईलाकाहरुमा विद्यालयको मर्मत सम्भार, सहयोग, टाई, बेल्ट, ड्रेस, जुत्ता, लाईव्रेरी आदि विभिन्न नामले अभिभावकहरु संग शुल्क बुझिरहेको पाउँछौं । यो शिक्षामा समावेशीकरणको कार्यक्रमको पूर्ण रुपमा योजना निर्माण तथा, नीतिगत व्यवस्थापन गतिलो हुन नसक्नु तथा कार्यान्वयन पक्ष फितलो हुनु हो । यसमा निःशुल्क भनिएको शिक्षा पूर्ण रुपमा निःशुल्क, पुस्तक छपाईमा तदारुकता, सार्वजनिक विद्यालयहरुमा विद्यालय बससंगै ड्राईभर र उनको सेवा सुविधा, ईन्धन तथा नियमित मर्मतको व्यवस्था तथा एउटै पोशाक तोकिएर शैक्षिक समावेशीकरण गर्न सकिन्छ ।

४, प्रशासनिक समावेशीकरणः

आजकल लोकसेवा आयोगले पनि विभिन्न शीर्षकहरुमा कोटाको व्यवस्थापन गरेको छ, सेना प्रहरी तथा प्रत्येक क्षेत्रमा निश्चित कोटा तोकेर आरक्षण, सकारात्मक विभेद तथा प्रशासनिक समावेशीकरण गरिरहेको छ । तर कहिले काँहि प्रशासनिक समावेशीकरणको विषयमा सकारात्मक विभेद बारे बुझाई कम हुँदा विभेद भयो कि भन्ने कुरा उठ्ने गरेको छ । समता समानता तथा सकारात्मक विभेदलाई यो चित्रले पनि प्रष्ट बनाउँछ ।

५, राजनीतिक समावेशीकरणः

राजनीतिक समावेशीकरणले राजनीतिक दल, निर्वाचित तथा मानोनयन हुने विभिन्न पद, मन्त्रीपरिषद जस्ता क्षेत्र बुझाउँछ । यो ठाउँहरुमा पनि जाती जनजाती, महिला सहभागिता, दलित अल्प संख्यक तथा लोपोन्मुखहरुको सहभागिता र मजदुर किसान तथा सबै क्षेत्रको सहभागिता जनाउँदछ ।

समावेशीकरणका चुनौतिः

यो व्यवस्थाको चुनौतिको रुपमा दोहोरो अवसर रहेको छ र यहाँ दोहोरो अवसरलाई नियन्त्रण गर्न कठिन हुन्छ । कुनै वर्ग वा समुदायको बाहुल्यता रहेको स्थानमा सार्वजनिक सेवा प्रवाह अनिर्वाय नभएको जस्तो देखियो र वर्गीय उत्थान व्यक्ति उत्थान हुन पगेको देखिन्छ । लक्षित वर्गले हाम्रो समुदायमा वञ्चितीकरणको नाममा लाभ लिने तथा पटक पटक एउटैले लाभ लिँदा व्यक्तिगत लाभको आरोप लाग्ने गरेको छ । समावेशीकरणलाई आदर्शको रुपमा विकास गर्नु पर्नेमा हामीकहाँ माध्ययमको रुपमा बुझ्न थालिएको छ ।

लैंगिक समानता के हो ?

लैगिक समानता समावेशीकरण भित्रकै एक विषय हो । कतिपयले लैंगिक समानतालाई बुझ्न पहिले लिंगभेदलाई बुझ्न जरुरी हुन्छ । कसैले लिंग र लैंगिक एकै हुन् भनेको पनि सुनिन्छ । वास्तवमा लिंग भनेको प्रकृतिक वा जैविक लिंगभेद हो । यसमा महलिा मात्रै गर्भवती हुन्छिन्, महिलाको रजस्वला हुन्छ, पाठेघर हुन्छ, डिम्ब हुन्छ र एक्स एक्स हुन्छ तर पुरुषमा विर्य हुन्छ र एक्स वाई हुन्छ । यो पुरुष र महिलामा फरक हुन्छ । यसले लिग जनाउँछ तथा यो सामान्यतया परिवर्तन हुँदैन । अर्कातिर लैंगिकले समाजिक विभेद जनाउँछ, जुन परिवर्तन गर्न सकिन्छ ।

सामाजिक विभेद धर्म, संस्कृति, समय, देश र समाज अनुसार फरक हुन्छ । जुन विभेद समाजमा निर्माण हुन्छ र समाजमै विकराल बनिरहेको हुन्छ । महिनाबारी हुँदा छाउ गोठमा राख्ने विभेदकारी व्यवस्था नेपालको पश्चिमी क्षेत्रमा विकराल बन्नेछ, महिलालाई मात्रै भान्साको काममा लगाउनु पर्छ, लुगा धुने, घरको काम गर्ने, बाल बालिका महिललाले स्यार्हानुृ पर्ने, खेतबारी जोत्ने काम महिलाले गर्नु पर्ने, धन कमाउने र परिवारको आर्थिक जिम्मेवारी पुरुषले धान्नुपर्ने काम पुरुषले गर्नुपर्ने भन्ने सोचाई ग्रामीण पिछडा क्षेत्र तथा अशिक्षित क्षेत्रमा व्याप्त छ ।

नेपालमा गडी चलाउने काम पुरुषले गर्ने, प्रहरी, सेनामा पुरुष मात्रै हुने भन्ने सामाजिक विकृति थियो र छ अनि सहरमै पनि कुनै सरकारी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुख पुरुष खोजेर हाकिम साप कहाँ हुनुहुन्छ ? भन्ने प्रश्न त्यहि कार्यालयको प्रमुख महिलालाई सोधेका कैयौँ समाचार सुनेका छौं । वास्तवमा यो नै सामाजिक विभेद हो र यसैलाई लैंगिक विभेद भनिन्छ । यसलाई शिक्षाको ज्योति तथा चेतनाले परिवर्तन गर्न सकिन्छ । यस्तो खालको सामाजिक विभेद खास गरिकन ठाउँ देखि ठाउँ सम्म र संस्कृति देखि संस्कृतिसम्म हुन्छन् । यसलाई हटाएर लैंगिक समानता कायम गर्नुपर्छ ।
लैंगिक समानताले पुरुष र नारीको अवसर, जिम्मेवारी, अधिकार, सेवा, लाभ, स्रोत साधन आदिमा समान अवसर, समान पहुँच तथा समान नियन्त्रण राख्नुलाई जनाउँछ । पुरुष र महिलालाई आफ्नो व्यक्तिगत विकास गर्न समान र स्वतन्त्र छ भन्ने मान्यता लैंगिक समानता हो । लैंगिक समानता ल्याउन महलिाहरुको चेतना, सहभागिता र निर्णय प्रकृयामा समेत सहभागिता बढाउनु पर्छ ।

लैगिक सामाजिकीकरणः
हरेक समाजले महिला र पुरुषको लागि बेग्ला बेग्लै मूल्य मान्यता, भूमिका, उत्तरदायित्व र विशेषता तोकिदिएको हुन्छ । भर्खरै जन्मेको शिशुलाई उसको लिङ्गको आधारमा पुरुष र महिलामा परिवर्तन गर्न सामाजिक र संस्कृतिक प्रक्रिया शुरु हुन्छ त्यो नै सामजिकीकरण हो । जस्तो समाज छ, सामाजिकीकरण चाहे अनुसारको हुन्छ । सामाजिकीकरण स्वभाविक प्रक्रिया हो, किनकि प्रत्येक समाजमा त्यहाँ स्थापित चाल चलन रितिरिवाजलाई स्वभावैले अनुशरण गरिन्छ तर सबाल के हो भने त्यो समाज कति सभ्य छ, त्यहाँ विभेदहरु छन् कि छैनन्, त्यसका मूल्य मान्यता न्यायसंगत छन् वा छैनन्, त्यसले नै सामाजिक प्रक्रियामा प्रभाव पार्दछ । जस्तैः अत्यन्तै रुढीग्रस्त समाजमा जन्मेको बालकले पनि बाह्य प्रभाव प्राप्त गर्न सकेन भने त्यही समाज अनुकूल बन्न पुग्दछ तर जन्मदै ऊ रुढीवादी बनेर जन्मेको हुदैन । सामाजिकीकरण हुनु आफैमा नराम्रो होइन तर गलत समाजमा रहेका गलत मान्यतालाई परिवर्तन गर्नु आजको आवश्यकता हो ।

सामाजिकीकरण गर्न सहयोग पुर्याउने केही तत्वहरुः

१, महिला र पुरुषले प्रयोग लगाउने र खेल्ने पोसाक तथा खेलौना
२, परिवार वा छिमेकीले समाजका नीति नियम भन्दै लैंगिक विषयहरु सफ्टवेयरको रुपमा हाम्रो दिमागमा राख्नु
३, हामीले मान्ने धर्म, संस्कृति र परम्परा
४, विचार, विश्वास र शिक्षा
५, कानुन र संचार माध्यम