माघे संक्रान्तिको महत्व : प्रिन्स न्यौपाने (बाल योगी)

हाम्रो नेपाल बहुभाषिक, बहुजाती ,बहुधार्मिक, बहुसांस्कृतिक विविधताले युक्त राष्ट्र हो। जसरी दशैं तिहार र अन्य महान चाड पर्वहरू रहेका छन् त्यस्तै यो माघे संक्रान्ति पनि हिन्दूहरूको प्रमुख पर्व हो। सूर्यले धनु राशि बाट मकर राशिमा प्रवेश गर्ने दिन भएको हुनाले यस पर्वलाई ‘मकर’संक्रान्ति पनि भन्ने गरिन्छ। माघे संक्रान्ति अर्थात् ‘माघ’ महिनाको प्रथम दिन पनि हो।

यस दिनमा तिलको विशेष महत्व रहेको छ। पुजा गर्दा, दान गर्दा, कुनै पितृकर्म तथा शुभकार्य गर्दा होस्, तिलको महत्व अपरिहार्य छ। तिललाई भुटेर अनि सख्खरमा मुछेर विभिन्न लड्डुहरुको परिकार बनाइन्छ। विशेष तिलको दिन हुने भएकाले पनि माघे संक्रान्तिलाई ‘तिलुवा’ संक्रान्ति पनि भन्ने गरिन्छ।

माघ १ गतेदेखि दिन पनि लामो हुँदै जाने र रात छोटिंदै जाने गर्छ । माघे संक्रान्तिले हाम्रो जीवनमा, धार्मिक, ऐतिहासिक र आध्यात्मिक को महत्व समेत बोकेको छ। यस दिन पवित्र नदिमा गएर स्नान गरी निस्वार्थ र स्वच्छ मनले दान दिने मानवलाई फलदायी हुने विभिन्न धार्मिक पुराणहरूमा उल्लेख गरिएको छ।

माघे संक्रान्तिले खासगरी दान र पुण्यको महत्व र महिमालाई स्पष्ट पारेको छ।

माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् ।
स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च
विन्दति ॥
(मकर संक्रान्ति का दिन घिउ र कम्बल दान
गर्नाले मोक्ष प्राप्त हुन्छ। मौसम अनुसार यो समय
जाडो हुनाले यसलाई सामाजिक सद्दभावको
आधारमा पनि पुष्टि गर्न सकिन्छ।)

पौराणिक ग्रन्थहरूमा उल्लेख गरेअनुसार—– तिल दान लाई पापनाशक मानिएको छ। त्यस्तै तेल र सख्खर दान लाई निर्मलता प्राप्त हुने कुरा बताएको छ। यो पावन अवसरमा स्नान पश्चात ब्राह्मणहरू लाई भोजन गराउने र कम्बल, जलपात्र आदि दान गर्नाले मोक्ष प्राप्ति हुने उल्लेख गरिएको छ।

महाभारत का अनुसार—- भीष्मले यहि दिन मृत्यु
रोजेका थिए, भने भगिरथले सोहि दिन गंगा लाई
पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका
थिए। त्यसैले माघे संक्रान्ति का दिन प्रयाग र
गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ |

माघेसंक्रान्ति का दिन विशेष गरी तरुल,सख्खर, चिउरा, घिउ, सकरगंजी, चाकु, लड्डु आदी विभिन्न प्रकारका तयार पारिएका खानेकुराहरू खाने गरिन्छ। माघेसंक्रान्ति आउनु भन्दा २/३ दिन अघि अलि टाढा रहेका छोरी चेलीहरु आफ्नो माइती घरमा आउँछ र घर परिवार, साथि भाई, बैनीहरु संग रमाइलो मनाउँछ।

” विशेष गरेर म कालिकोटमा जन्मेको हुँदा, म पाहाड तिर कसरी माघेसंक्रान्ति मनाउँछ त यसको बारेमा मैले भौतिक रुपमा देखे अनुसार यस्को बारेमा जानकारी दिँदै छु।”

पहाड क्षेत्रमा माघे संक्रान्ति आउनु भन्दा अघि नै छोरी चेलीहरु आफ्नो माइती घर आउँछन्, र घरलाई हरियो गाईको गोबरले लिपेर स्वच्छ बनाउँछन् । गाउँमा संगै माटो/धुलो खेलेर हुर्केका सबै साथि, दिदी बैनीहरु आफ्नो माइतीमा आएका हुन्छन् र सबैसंग रमाइलो गर्दै माघेसंक्रान्तिको लागि (धुंई) आगो कहाँ बाल्ने भनेर सबै जना सल्लाह गर्छन्।

आ-आफ्नो घरमा तिलका लड्डु हरु तयार पार्छन्। पडेलु पकाउँछ, माघेसंक्रान्ति को अघिल्लो दिन पुसको अन्तिम दिन सबै मिलेर (धुंई) ताप्छन्। गाउँका सबै त्यहाँ रमाइलो मनाई रहेका हुन्छन्। कुटुम्ब अर्थात भिनाजु, पुसाई हरु पनि आएका हुन्छन् त्यो साँझ रमाइलो गर्ने भनेर, भिना/सालि हरु देउडा खेलिरहेका हुन्छन् यदि आगो सकिन लाग्यो भने अरुका घरमा भएका ‘डोका’,थुन’हरु चोरेर ल्याउँछन् र आगो जगाई राख्छन्। हाम्रो गाउँका दाजु/भाई पनि अरुको गाउँमा गएर रमाइलो मनाउँछन्। देउडा खेलेरै रात कटाउं छन् ।

भोलि पल्ट माघ १ गते बिहान हुन्छ देउडा छोड्छन्, सबै आ-आफ्ना गाउँ तिर लाग्छन्। टाढा/टाढा खोलाहरू हुन्छन् त्यहाँ जान्छन् स्नान गरेर आफु सफा र स्वच्छ हुन्छन्। घरमा आउँछन् देवि/देवता को अगाडी आफ्नो पुजा कोठामा दियो बाल्छन् पुजा अर्चना गर्छन्। त्यस पश्चात आफु संग जे छ त्यो कुरा दान गर्छन् र १/२ दिन अगाडि बनाएका परिकारहरु सबै राख्छन्। मानव शरीरलाई जाडो महिनामा ताप युक्त बनाउन तयार पारिएका खाद्य पदार्थहरू खाने गरिन्छ। यस दिनमा विशेष गरेर पालङ्गो, घिउ, चिउरा, चाकु तरुल, तिलको लड्डु, तयार पारेको खानेकुरा खाने गरिन्छ।

हजुरबुवा… सर्पलाल न्यौपाने भन्नु हुन्छ …

“यी सम्पूर्ण खाद्य पदार्थहरूले मानवलाई निरोगी बनाउँछ। पुस महिनामा पकाएर माघ महिनामा खाने निकै पुरानो चलन हो। पुस महिनाकै अन्तिम दिनमा पकाएर माघे संक्रान्ति भोलिपल्ट का दिन खाने यो पहिले बाट चल्दै आएको चलन हो। मंसिर र पौषको चिसो महिनामा काम गर्दा चिसो लागेको हुन सक्छ, त्यस चिसोका कारण बिरामी हुनु नपरोस् भनेर माघ १ गतेको दिन घर सरसफाई गरेर, नदीमा गई नुहाएर मठमन्दिर जाने घरमा घिउ, चाकु, तीलको लड्डु, तरुल भुटेको चामलको पीठोको झोल (क्वाँटी ) अर्थात तातो सूप, मकै फलेर त्यस्को सुप र मासको दाल राखेर पकाएको खिचडी खाने, कोदेफाडो, मामाघरमा जाने मामाले भान्जा/भान्जीको तालुमा तेल लगाउने, घिउ खुवाउने, घाममा तेल लगाई दिने र लगाउँदा चिसो हराउँछ भन्ने विश्वास छ बाबु तर अहिले यो सबै हराउँदै गईरहेको छ बाबु।”

धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक दृष्टिकोणबाट पनि माघे सङ्क्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ । धार्मिक रूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्मसम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ, त्यस्तै वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाइ हुने, मौसमअनुरूपका पोषक खाद्य चिज खाइने तथा निरोगी भइने हुनाले यो सकारात्मक नै देखिन्छ ।

माघे संक्रान्तिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु।
प्रिन्स न्यौपाने (बाल योगी)
अन्तर्राष्ट्रिय योग शिक्षक (GSPSS)
लम्कीचुहा-१ लम्की, कैलाली