कविता- नेपाल आमाको सपना : विजु पछाई खाती


बाबु….!
छोरा…..!!
ए पृथ्वी…..!!!
छाती साह्रै चर्कियो
खोइ किन दुखिरहन्छ मुटुको भित्तो !
डराइरहन्छ काँपेको सास !
पटक पटक लुटेराहरूको हमलाले
सातो गएको छ छोरा !
थर्थर काँपिरहन्छ जीर्ण देह !
खोइ ! त्यसैले हो कि
तिम्रो सम्झनाले ….
रुँदा रुँदा आँखा धमिलो भएको छ !
देख्दिनँ आफ्नै शरीरका अङ्गहरू
कति छन् कति छैनन् !
भेटाउन्न आफैले जन्माएका छोराछोरी पनि
कति छन् कति छैनन्!
मन्दिर जाने बाटो भेटाउँदिनँ !
गङ्गाजल चढाउने चौपारी भेटाउँदिनँ !
खोइ कहाँ गए बेलपत्र जाइ र चमेली ?
कहाँ गए डाँफे मुनाल र मालीगाई ?
मैले चिनेका मायालु अनुहार खोज्छु
कतै पनि भेटाउँदिन !
कति आस्थाले बनाएका मन्दिर र शालिकहरू
कही कतै भेटाउँदिन !

ए बाबु…..!
ए छोरा…….!!
ए पृथ्वी……..!!!
आज त रातभरि आँखै लागेन !
आँखाबाट कहिले काली बगिन्
कहिले सेती बगिन्
कहिले कोशी बगिन्
कहि कर्णाली बगिन् …!
गहिरो पीडामा कोल्टे फेरिरहेँ !
पुकारिरहेँ मनोकामना र पशुपतिनाथ….!
धन्न प्रभु…!
बिहानीपखको कलिलो निद्रामा
सर्लक्क जन्मियौ तिमी !
मेरो कोखमा
हर्लक्कै बढ्यौ किरणसँगै
र फिँजारियौ आङैभरि !
म त झलमल्ल भएँ !
रसिली र कसिली भएँ !
तिम्रो मोहनी मुस्कानको जादुमा
सुनौलो सपनालाई अङ्कमाल गरेँ !
तिम्रो अनुहार मिलेजस्तो लाग्यो
कता कता पूर्वबाट फैलिएको किरणसँग !

……म बिउँझिएँ
छोटो र मिठो निद्रा
रहरलाग्दो, लोभलाग्दो र आशलाग्दो सपना
अनि ….रविमय सुनौलो बिहानी !
……………………………..!

मलाई पुनः तिमी जस्तै छोरा जन्माउनु छ !
मलाई पुनः तिम्रो साझा फूलबारी बन्नु छ !
मलाई पुनः एकताको सुन्दर माला पहिरिनु छ !
ए बाबु…!
ए छोरा……!!
ए पृथ्वी…….!!!
तिमीलाई छातीमा टाँसेर
सगरमाथाको शिरमा चन्द्र र सूर्य पहिरिनु छ !!!
धन्यवाद