व्यवसायीहरु गैरजिम्मेवार हुँदा डुब्यो बैंक, सर्वसाधारणको हरिबिजोग हुने निश्चित

देशभरका व्यवसायी मिलेर वित्तिय संस्था डुबाउने रणनीति रचेका छन् । उद्योग व्यवसायी, निर्माण व्यवसायी, यातायात व्यवसायी, घरजग्गा व्यवसायी, उड्डयन क्षेत्रका व्यवसायी, होटल व्यवसायी, रिकण्डिशन व्यवसायी, सेयर व्यवसायी सबै एकजुट भएर बैंक डुबाउन अघि बढेका छन् ।

यी व्यवसायीहरुले विगत दुई वर्षदेखि बैंकबाट लिएको कर्जाको साँवा र ब्याज नै तिरेका छैनन् । बैंकको कर्जा फिर्ता गर्नुको साटो अर्थमन्त्री विष्णु पौडेल र गर्भनर महाप्रसाद अधिकारीलाई दबाबमा परेर आफ्नो पक्षमा काम गराउन खोज्दैछन् ।

जसले गर्दा कतिपय बैंक डुबिसकेको छ भने कतिपय डुब्ने अवस्थामा पुगेको छ । दुई वर्ष अघिसम्म बैंकहरुले यो वर्षमा यति नाफा कमाए भनेर पत्रकार सम्मेलन गर्थे । सेयर होल्डरहरुलाई बोनस र कर्मचारीको तलब पनि नाफासंगै बढ्थ्यो । तर, अहिले बैंकले सेयर होल्डरलाई नाफा दिन छोडिसकेको छ । यता, कर्मचारीको तलब बढ्न पनि ठप्प भएको छ । आफ्नो बैंकमा नाफा नभएको उल्लेख गर्दै लाभांश दिन छोडिएको छ । पछिल्लो समय बैंकहरुलाई कर्मचारीलाई तलब दिनसमेत हम्मेहम्मे परेको छ ।

तलब बढाउनु त अकल्पनीय कुरा हो । बैंक धरासायी बन्नुको मुख्य कारण ऋणीहरु हुन् । व्यवसायीहरुले बैंकबाट कर्जा लिए तर फिर्ता दिएनन् । बरु, राजनीतिक दलको झोला बोक्ने अनि आन्दोलनमा उत्रिने । यस्तो पाराले बैकिङ्ग क्षेत्र चल्छ ? कर्जा लिएपछि तिर्नु सबैको दायित्व हो । व्यवसायीहरुले इमान्दारिता साथ कर्जा चुक्ता गर्नुपथ्र्यो । तर, उनीहरुले त्यसो गर्न चाहेनन् । बैंक डुबाउने षड्यन्त्र बुनेका व्यवसायीहरु विस्तारै सफल हुँदैछन् । यता, बैंक भने सखाप हुने अवस्थामा पुगेको छ ।

बैंकमा पैसा नभएर सञ्चालकहरु तनावमा आइसकेका छन् । ब्याज बढाएको बढायै छन् तर राखिदिने कोही छैनन् । मुद्दती खाता १८ प्रतिशतसम्म ब्याज दिन्छौं भनेर उनीहरुले सर्वसाधारणबाट पैसा उठाउन खोजिरहेका छन् । तर, यसले पनि कुनै फरक परेको छैन् । बचतकर्ताको बैंकमा लाइन छ । आफ्नो पैसा निकाल्न बैंकमा दौडधुप गरिरहेका छन् । तर, बैंकसंग फिर्ता गर्ने पैसा छैन् । बचतकर्ताले आफ्नो पैसा डुब्ने संकेत पाइसकेका छन् । यद्यपि बैंकले विभिन्न बहाना बनाएर बचतकर्तालाई टारिरहेको छ ।

एकैचोटि धेरै पैसा दिन नसक्ने बताउँदै बैंकहरुले थोरैथोरै दिएर काम चलाइरहेको छ । बचतकर्ताले ब्याज खानका लागि बैंकमा लगेर पैसा राखे । त्यही पैसा बैंकले विभिन्न व्यवसायीमा लगानी गर्यो । घुस खाएर, बढी सेवाशुल्क र मँहगो ब्याजको प्रलोभनमा परेर बैंकले आँखा चिम्लेर लगानी गरेको थियो । तर, अहिले परिस्थिति नै फेरिएको छ । हामी ऋण तिर्दैनौ भनेर ऋणीहरुले हात उठाइसकेका छन् । उनीहरु निरन्तर आन्दोलनमा छन् । टाउकोमा कालोपट्टी बाँधेर ऋणीहरुले आफ्नो ऋण नै ‘डिसमिस’ पार्न खोजेका छन् ।

तर, पैसा राख्ने बचतकर्ताचाँहि कहाँ जाने ? कसको सामु गएर हारगुहार गर्ने ? अर्थमन्त्री पौडेल गुहार्ने कि गर्भनर महाप्रसाद अधिकारी । बचतकर्ताको बिचल्ली हुने निश्चित छ । सडकमा आउ भने संघसंगठन छैन् । बचतकर्ताहरु घर न घाटको अवस्थामा पुग्ने देखिएको छ । न उनीहरुले आफ्नो बचत फिर्ता पाँउछन् न आन्दोलन नै गर्न सक्छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री पौडेल र गर्भनर अधिकारीले जनता सोत्तर पार्ने भए । बैंक डुबाउन र जनता बिचल्लीमा पार्नमा सरकारका पदाधिकारीहरुको ठूलो हात छ ।

सरकारले एकलौटी कुरा सुनेर निर्णय गर्न मिल्छ ? व्यवसायी बचाउन खोज्दा बंैंक र जनताको उठीबास हुन्छ भनेर सोच्नुपर्दैन् ? दुई वर्ष अगाडि एक कित्ता सेयरको मूल्य ३२ सयसम्म पुगेको थियो । अहिले घटेर त्यही सेयर १८ सयमा झरेको छ । त्यतिखेर बैंकले ३२ सयको सेयर धितो राखेर २५ सय रुपैयाँ कर्जा दियो । कर्जावालले जम्मा सात सय रुपैयाँ लगानी गरेका थिए । तर, अहिले त्यही सेयरको मूल्य घटेर १८ सयमा आँउदा बैंक त चुलुम्मै हुने देखिएको छ ।

यता, बैंकको कर्जा बढेर ३५ सय रुपैयाँ पुगिसकेको छ । अब बैंकले के गर्ने ? सेयर लिलाम गर्दा पनि बैंकको साँवाब्याज उठ्दैन् । जसले सेयर धितो राखेर कर्जा लियो उसले थप धितो दिँदैन् । यता, कर्जा पनि घटाउदैन् । बरु, मैले तिर्न सकिन् धितो लिलाम गर्नुस् भन्छन् । सेयरमा सबैभन्दा धेरै लगानी गर्ने नबिल बैंक हो । नबिल बैंकको अवस्था नाजुक भइसकेको त्यही कार्यरत कर्मचारीहरु बताउँछन् । जग्गा पनि त्यही नै भएको छ । दुई वर्षअघि ठाँउ हेरेर आनाको ४० देखि ९० लाखसम्म खरिदबिक्री हुन्थ्यो ।

९० लाखको जग्गामा बैंकको लगानी ६०–७० लाख थियो । तर, पहिले ९० लाखमा किनेको जग्गा अहिले आधा मूल्यमा पनि बिक्री हुँदैन् । किन्ने मान्छे सामसुम छ । ७० लाखको कर्जा बढेर एक करोड २० लाख पुगिसकेको छ । तर, ९० लाखको जग्गा घटेर ४५ लाखमा आएको छ । ३० लाखको गाडीमा बैंकले २२ लाखसम्म लगानी गर्यो । त्यो २२ लाखको कर्जा नतिरेर ३० लाख पुग्यो । ३० लाखको गाडीको मूल्य घटेर १५ लाखमा आयो । वित्तिय संस्था नराम्ररी डुब्नुको प्रमुख कारण यही हो ।

हिजो बजार भाउ बढेको बेला बैंकले सोच्दैनसोची ह्वात्तै लगानी गर्यो । अहिले त्यसमा निरन्तर गिरावट आइरहेको छ । हिजो बैंकबाट कर्जा लिएर घर बनाएका, गाडी र जग्गा किनेकाहरु पनि तनावमा परेका छन् । उनीहरुले बढ्दो बजार भाउ देखे । तर त्यो जतिबेला पनि कायापलट हुन्छ भन्नेतिर कसैको ध्यान नै गएन् । बजारमा मन्दी आउन सक्छ, हामी डुब्न सक्छौं भनेर कसैले सोचेनन् ।

बैंकले एक सय रुपैयाँ कित्ता निकाश गरेको सेयरलाई ३२ सयमा आँखा चिम्लेर खरिद गरे । सरकार रेट आनाको एक लाख भएको जग्गा ५० लाख हालेर किने । जग्गा दलाली र बिचौलियाले जग्गाको मूल्यमा उछाल ल्याएका थिए । पाँच रुपैयाँ किलोमा बिक्री नहुने फलामबाट बनेको गाडीमा लाखौं रुपैयाँ लगानी गरेका छन् ।

वित्तिय संस्थाहरुले भोलि बजार भाउमा गिरावट आँउछ भनेर सोचेन् । ब्याज र घुसको प्रलोभनमा परेर यी संस्थाले आँखा चिम्लेर लगानी गर्यो । हिजो बैंकका कर्मचारीलाई घुस खान दिएर झयाम्झयापी कर्जा लिए । बैंक फाइनेन्सकै पैसामा जग्गा किनेर घर बनाए । त्यही पैसाबाट गाडी किने । आफ्नो यति लाख कित्ता सेयर छ भनेर आफन्तमा धाग लगाए । तर, त्यो सबै बैंकको नाममा छ भनेर उनीहरुले सोचेनन् । छिमेकी, आफन्तहरुले उसको घर,गाडी र सेयर बैंकमा रोक्का छ भनेर थाहा पाएनन् ।

एक वर्ष अघिसम्म आफ्नो घर छ भनेर धाग लगाउनेहरुलाई यतिखेर कहाँ जाऊ भइरहेको छ । कतिपय घर नै छोडेर भागेका छन् । पत्रिकामा तीन पुस्ताको नाम निकालेपछि कतिलाई कहाँ जाऊ ? भइरहेको छ । बैंकले घरको गेटमा ल्याए चिठी टाँसेको छन् । बैंकको ऋण चुक्ता गर्न नसकेर कतिपय भागेका छन् त कतिपय सम्पर्कविहिन भए । कार चढेर हिँडेरहरु ट्याम्पो र सार्वजनिक यातायातमा देखिन्छन् । कार बैंकले तानेर लगेपछि विकल्प यही नै रह्यो ।

मेरो सेयर बेच्दा एक लाख आँउछ भन्नेहरु झरेर हजारमा आइपुगेका छन् । बजारलाई पुरै मन्दीले ढाकेको छ । बजारमा मन्दी आउनुको कारण बैंक फाइनेन्सले हच्चाको भरमा लगानी गर्नु हो । बैंकले जथाभावी लगानी गर्दा धेरैको उठीबास लाग्ने भयो । हिजो बैंकमा पैसा राख्नेको ओइरो हुन्थ्यो । जसका कारण बैकले जस्तो पनि ठाँउमा लगानी गर्यो । अहिले बैंक फाइनेन्सले कर्जा उठाउन सकेको छैन् । यता, कर्जा लिनेहरु पनि भाग्ने अवस्थामा पुगे । सरकारले पहिल्यै नीति बनाएको भए आज कोही पनि डुब्दैनथे ।

पैसा कहाँ कति लगानी गर्ने ? भनेर सरकारले पहिले नै मापदण्ड बनाइदिनुपथ्र्यो । राष्ट्र बैंक र सहकारी विभाग जिम्मेवार हुन सकेन् । सरकारले हिजो छाडा छोडिदियो । जे गरेपनि छुट भन्न थाल्यो सरकार । बैंकबाट कर्जा लिएकै पैसाबाट उद्योग व्यवसायीहरु पुँजीपति बनेका हुन् । बैंकले कर्जा दिएको पैसाबाट लगानी गरेर यिनीहरुले नाफा कमाए । अंकुत सम्पत्ति जोडे । अनि आज बजारमा मन्दी छाएपनि हामी ऋण नै तिर्दैनौं भन्न मिल्छ ? घरजग्गा, सेयर र गाडी बेच्दा आएको नाफा यिनीहरुले बैंकलाई दिएका थिए र ?

तर, बजारमा मूल्य घट्नेबित्तिकै व्यवसायीहरु धितो छोड्नेतिर गए । मूल्य बढेको भए धितो निखान्नतिर जान्थे । सिँधै बैंक डुबाउन चलखेल रचियो । बैंक डुबेसंग बचतकर्ता डुब्छन् । तिनको कन्तबिजोग हुन्छ ।

अनुसा थापा
भक्तपुर