सिन्धुलीको कमलामाईमा दक्षिण कोरियाका बाच्छी

निराज रानाभाट
सिन्धुली : वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले राम्रो कमाइ गर्न नसकेपछि सिन्धुली जिल्लाको कमलामाई नगरपालिका निवासी इसा कार्कीको परिवारले भैंसीपालन गर्दै आएकी छिन् । २ भैंसी पालेकी कार्कीको परिवारले प्रतिदिन १६ लिटर दूध बिक्री गर्छिन्  । यसबाट हुने आम्दानीबाट २ सन्तानको पढाइ र घर खर्च चलाउँछिन् कार्की ।

कृषि पेशाबाट दुःख – सुख गरेर जीविकोपार्जन गरिरहेकी कार्की अघिल्लो आइतबार निकै खुसी देखिइन् । कारण थियो , दक्षिण कोरियाले उपहार स्वरूप पठाएको होलस्टिन फ्रिजन जातका बाच्छी उनले पाएकी थिइन् ।

‘ विदेशमा कमाइ नभएपछि श्रीमान् – श्रीमती कृषि पेशामा छौं , तर खासै आम्दानी छ्रैन ,’ कार्कीले भनिन् , ‘ कोरियाबाट २ बाच्छी उपहार पाएका छौं । हामी धेरै खुसी छौं । ’ बाच्छीको स्याहारका लागि हेफर इन्टरनेसनल नेपालले तालिमसमेत दिएको थियो । गोठ निर्माणका लागि अनुदान पनि दिएको थियो ।

‘ एउटा गाईले प्रतिदिन ३० लिटरसम्म दूध दिने भनिएको छ । २ वटाबाट दिनको ६० लिटर दूध उत्पादन गर्न सक्छौं ,’ उनले भनिन् , ‘ भैंसी पाल्दा खर्च बढी छ , तर दूध उत्पादन धेरै हुन्न । अब बाच्छी पालनलाई जोड दिन्छु । ’ हेफरले २ बाच्छीका लागि १ सय किलो घाँस पनि उपलब्ध गराएको उनले जनाइन् । उसले बाच्छीका लागि दाना पनि दिएको छ ।

कमलामाई नगरपालिकाको तल्लो राजपानीको कृषक समूहकी हेमकुमारी देवकोटाको भनाइ पनि उस्तै छ । देवकोटाले पनि उन्नत जातका २ वटा बाच्छी उपहार पाइन् । उपहार स्वरूप पाएका उन्नत जातका बाच्छीलाई अब राम्ररी पालन – षोषण गर्ने उनको भनाइ छ । देवकोटाले गोठ बनाउन हेफरबाट १ लाख रुपैयाँ अनुदान पाएकी छिन् ।

कमलामाई नगरपालिकाकै माया कार्कीको भनाइ पनि उस्तै छ । उनले एउटा बाच्छी उपहार पाइन् । ‘ किसानबाट उत्पादिन दूध बिक्रीका लागि हेफरले डेरी सञ्चालन गरिदिने आश्वासन पनि दिएको छ । गोठ बनाउनकै लाीग १ लाख अनुदान पाएँ । बाच्छी बिरामी पर्दा हेरचाह गरिदिने भनिएको छ ,’ उनले भनिन् , ‘ हामीलाई धेरै खुसी मिलेको छ । अब व्यावसायिक रूपमा गाईपालन गर्छौं । ’

गैयादेवी कृषक समूहका नरोत्तम अधिकारीले पनि उपहारमा २ बाच्छी पाए । अर्का स्थानीय नेत्रबहादुर कार्की पनि बाच्छी पाउने किसान हुन् । ‘ यो जातको बाच्छीबाट धेरै दूध उत्पादन हुने सुनेका छौं । धेरै गाईभैंसी पाल्नुको साटो उन्नत जातका २ वटा गाई पाल्दा खर्च कम हुने भयो ,’ उनले भने , ‘ आम्दानी भने बढ्ने भयो । ’

माथिल्लो राजपानी कृषक समूहकी अध्यक्ष उर्मिला भट्टराई कार्कीले उपहार पाएको बाच्छीले बच्चा पाएपछि अन्यलाई पनि उपहारमा वितरण गर्ने बताइन् । पहिलो चरणमा हेफरमार्फत उपहारमा आएका बाच्छी कमलामाई नगरपालिका – ०५ , राजपानी गाउँका किसानहरुलाई वितरण गरिएको बताइएको छ । हेफरले माथिल्लो राजपानी कृषक समूह , तल्लो राजपानी कृषक समूह , गैयादेवी कृषक समुह र दमार उद्यमी महिला समूहमार्फत उपहारमा बाच्छी वितरण गरेको हो ।

दक्षिण कोरियाले नेपाल सरकारलाई साढे ५६ करोडको बराबरका १ सय वटा बाच्छी र २० वटा साँढे उपहारमा दिएको हो । तिनै बाच्छीलाई कमलामाई नगरपालिकामा वितरण गरिएको हेफर इन्टरनेसनल नेपालले जनाएको छ । नेपालमा उच्च प्रजनन क्षमताका गाईको स्रोत केन्द्र विकास , दूध उत्पादनमा वृद्धि र जातीय विकासका लागि कोरियाले हेफर इन्टरनेसनलमार्फत उपहारमा बाच्छी सहयोग गरेको हो ।

यी बाच्छीलाई नेपाल ल्याउन हेफर इन्टरनेसनल नेपाल र हेफर इन्टरनेसनल कोरियाले सहयोग गरेका हुन् । उपहारप्राप्त बाच्छीमध्ये ८० वटा सिन्धुली जिल्लाका किसानहरुलाई बाँड्ने जनाइएको छ । अहिले तत्कालका लागि बाच्छी वितरण कार्यक्रम वडा नम्बर ५ मा मात्रै रहेको र अन्य वडाबाट पनि माग भइरहेको सिन्धुलीका जेटीए सुजनप्रसाद भट्टराईले बताए ।

उपहार स्वरुप प्राप्त बाच्छी बिक्री गर्न नपाइने हेफर सिन्धुलीका प्रोग्राम अफिसर ठाकुर खड्काको भनाइ छ । तीबाट जन्मेका बाच्छी अरु किसानलाई उपहारमा दिनुपर्ने उनले जनाए । ‘ नगरपालिकले ५० वटा किसानलाई छानेपछि हेफरले खोर गोठ निर्माण र घाँसको विकास र तालिम पनि दिइरहेको छ ।

जापान सहयोग नियोग ( जाइका ) को रिपोर्टअनुसार सिन्धुली दूधका लागि राम्रो पकेट क्षेत्र हो ,’ उनले भने , ‘ अबको आठ वर्षभित्र सिन्धुलीका ५ हजार किसानलाई सेवा पुर्‍याउने लक्ष्य छ । ’ कमलामाई नगरपालिका – ०५ लाई होलस्टिन फ्रिजन स्रोत केन्द्र बनाउन खोजेको हेफरका सह – निर्देशक केशव साहले बताए । उच्च गुणस्तरको साँढे चाहिए केन्द्रले उपलब्ध गराउने उनको भनाइ छ ।

होलस्टिन बाच्छीलाई ईआईएमार्फत गर्भाधान

कोरियाबाट उपहार स्वरूप प्राप्त णस्तरका बाच्छीलाई ईआईएमार्फत गर्भाधान गराइने जनाइएको छ । ‘ विशुद्ध होलस्टिन फ्रिजन जात भएकाले विशुद्ध होलस्टिन साँढेको सिमन प्रयोग गरेर ईआईए गरिन्छ । नेपालमा समिन त्यो छैन ,’ साहले भने , ‘ कोरियाबाटै २ हजार डोज सिमन ल्याएका छौं । ’