जुत्ताको कथा : लघुचलचित्र ‘पाउलो’ को छायांकन सम्पन्न

काठमाडौं : जुत्ताको कथावस्तु रहेको लघुचलचित्र “पाउलो”को छायांकन सम्पन्न भएको छ । लघुचलचित्रमा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् ।

काठमाडौंमा छायांकन गरिएको पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन रहेको छ भने प्रोडक्सन म्यानेजमेन्ट मालिका मिडिया एण्ड रिसर्च प्रालिका संचालक  चक्र प्रसाद पोख्रेलले गरेका छन् । लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् र सहायक निर्देशन करन साउदले गरेका छन् ।

पाउलोमा केही समयअघि अडिसनमार्फत कलाकारहरुको छनोट गरिएको थियो । मुख्य पात्रको रुपमा अभिनय गरेका प्रशान्त हुमागाइँ यस लघुचलचित्रबाट अभिनयबारे अझ धेरै कुराहरु सिक्ने अवसर पाएको बताउँछन् । पात्रमा अभिनय गरिरहँदा मानिसहरु झुक्किएर पैसा दिएको अनुभव समेत सुनाए । उनले नाटकमार्फत बेलारुस र बंगलादेश पुगेर उत्कृष्ट बाल कलाकारको अवार्डसमेत प्राप्त गरिसकेका छन् ।

पाउलोको अफिसियल पार्टनरको रुपमा मालिका मिडिया, साइलेन्ट एक्ट र आरके फिल्मस् रहेको छ । जुत्ताको कथा रहेको “पाउलो” लाई ब्ल्याक हर्स जुत्ता कम्पनीले प्रायोजन गरेको छ । ब्ल्याक हर्सले नेपालमा विभित्र ब्राण्डेड जुत्ता तथा चप्पलहरुको उत्पादन तथा वितरण गर्दै आइरहेको छ । पाउलोको कथावस्तु जुत्ता सम्बन्धी भएर मन परेकाले सहकार्य गरेकाे ब्ल्याक हर्स इन्ड्रस्टिज प्रालिका प्रबन्ध निर्देशक चीन बहादुर श्रेष्ठ बताउँछन् ।

ऐना आर्ट्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र पाउलोको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । अन्य चलचित्रहरूमा व्यक्तिलाई पात्रको रुपमा उभ्याउने गरिएतापनि यस लघुचलचित्रमा भने जुत्तालाई नै मुख्य पात्र र जीवनको रुपमा उतार्ने प्रयास गरिएको उनी बताउँछन् । उनले यसअघि निर्माण गरेका लघुचलचित्र “भाउ” र “घुर्रा” विभिन्न अन्तरास्ट्रिय चलचित्र महोत्सवहरुमा समेत छनोट भएको थियो ।