सिताके च्याउ खेतीमा रमाउदै दामोदर जमकटेल

नेपालमा सिताके च्याउको व्यावसायिक खेती विस्तारै फस्टाउँदै गएको छ । स्वास्थ्यवद्र्धक साथै पोषिलो र सहज रूपमा उत्पादन गर्न सकिने भएकाले देशका विभिन्न ठाँउहरुमा सिताके च्याउको खेती देशैभर फस्टाइरहेको छ । लामो समयय वैदेशिक रोजगारमा संलग्न भएका तारकेश्वर नगरपालिका वडा नं ३ का दामोदर जमकटेल पनि सिताके च्याउको सम्भावना देखेर करीब १००० भन्दा बढी कटुसका मुढामा सिताके च्याउको उत्पादन गरीरहेका छन् । उनले नेपालमा केही गर्न सकिन्छ भनेर नै नेपालमा सिताके च्याउको उत्पादन गरीरहेका छन् । उनेले विदेशमै भएको बेला सिताके च्याउको नेपालमा सम्भावना देखेर नेपाल फर्केपछि यसको विस्तार र उत्पादनमा लागिरहेका छन् ।

जापानी भाषामा कटुसको मुढामा फल्ने च्याउलाई सिताके भनिन्छ । अर्थात सिई भन्नाले कटुसको रुख र ताके भन्नाले च्याउ भन्ने अर्थ लाग्ने गर्छ । यस च्याउको रङ्ग मृगको जस्तो रातो र बुट्टेदार हुने भएकोले नेपालमा यसलाई स्थानीय भाषामा कतै कतै मृगे च्याउ पनि भन्ने गर्छन । सिताके च्याउको उत्पत्ति चीनमा भएपनि यसको ब्यवसायिक बिस्तार भने जापानबाट भएको मानिन्छ । विश्वमा सबैभन्दा बढी सिताके च्याउ चीन, जर्मनी, बेल्जियम,अष्ट्रेलिया, जापान, कोरिया, ताईवान, सिंगापुर, मलेशिया आदि मुलुकहरुमा हुने गरेको छ र पछिल्लो समयमा नेपालमा पनि विस्तार हुने क्रममै रहेको छ । सिताके च्याउ त्यति सारो झन्झटिलो नभए पनि अली काठको मुढा ओसारपोसार गर्न चाँहि अलि समस्या छ । अझै पनि मुढा ल्याउन पाएमा केही मुढाहरु थप्ने योजना जमकटेलको रहेको छ ।

सिताके च्याउमा मानव शरीरलाई चाहिने पौष्टिक तत्वहरु प्रशस्त मात्रामा हुनुको साथै क्यान्सर, मुटुरोग जस्ता डरलाग्दा रोगहरुसँग लड्नसक्ने शक्ति रहेको पाईन्छ । शरीरलाई स्वस्थ राख्नुको साथै स्मरण शक्ति बढाउने, भिटामिन डी को श्रोत, प्रयाप्त मात्रामा प्रोटीन, भिटामिन, मिनरल्स, इन्जाइम र एमिनो एसिड जस्ता शरीरलाई आवश्यक पर्ने तत्वहरु प्रशस्त मात्रामा पाइने हुनाले शारीरिक बृद्धि र विकासमा यसले सहयोग गर्दछ । सिताके च्याउको दिनानुदिन बजार वृहत्तर बन्दैछ । उपभोक्ताहरु स्वास्थ्य प्रति सावधानी र जागरुक भईरहेको हुनाले बजार पनि विस्तारै सहज बन्दै गएको जानकारी गराउदै छन् सिताके च्याउ गर्दै गरेका दामोदर जमकटेल ।

सिताके च्याउ नेपालको मध्यपहाडी क्षेत्रमा अत्यन्त सजिलोसँग गर्न सकिन्छ । बिशेषगरी समून्द्री सतहबाट करीब १००० देखी १६००मीटरसम्मको ओसिलो र पानी भएको ठाँउमा यसको राम्रो उत्पादन लिन सकिन्छ । यसको उत्पादनको लागि न्यूनतम १० देखि अधिकतम २५ डिग्रीसम्म तापक्रम भएको स्थान आवश्यक हुन्छ । त्यसैले यसको लागि मध्यपहाडी क्षेत्र नै सबैभन्दा उपयुक्त क्षेत्र हो । यसरी सम्भावना देखेर स्वदेशमै सिताके च्याउको उत्पादनमा लागिरेहका जमकटेललाई कृषि ज्ञान केन्द्र ललितपुरले सिताके च्याउ उत्पादन भईरहेको यो ठाँउको स्ट्रक्चर बनाउन केही रकम सहयोग गरेको भए पनि अन्य निकायले खासै चासो नदिएको गुनासो पोखे, तर स्थानिय निकायले सहयोग गर्ने आश्वासन दिए पनि सहयोग नगरेको यथार्थ चित्रण गरे ।

कोलेष्ट्रोल र उच्च रक्तचाप नियन्त्रण गर्ने, हड्डीको विकासमा सहयोग गर्ने, यौन क्षमता बृद्धि गर्ने, रुघाखोकी लाग्न नदिने र रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले स्वास्थ्यको दृष्टिकोणले सिताके च्याउलाई महत्वपूर्ण मानिन्छ । सिताके च्याउ खेतीको लागि धेरै अफ्ठेरो नभए पनि प्राविधिक ज्ञान भने हुनै पर्छ । सिताके च्याउलाई आवश्यक मुढा काट्ने समय र बिउ राखिसकेपछि ढुसी फैलने समयमा भने विशेष ध्यान दिनु आवश्यक छ र आवश्यकता अनुसार उत्पादन गर्न सकिने र घरमै बसेर पार्ट टाइमको रुपमा पनि गर्न सकिन्छ ।

प्रकृतिको वरदान स्वरुप प्राप्त प्राकृतिक सम्पदाहरु जल, जमिन, जङ्गल, जनशक्ति, जडीबुटी, लगायतका श्रोतहरुको उच्चतम प्रयोग र दीगो व्यवस्थापन गर्दै स्थानीय स्तरमा उद्यमशिलताको प्रवद्र्धन गर्नु नै सहि विकल्प हाम्रो सामु बन्न सक्छ, त्यसैले नेपालमा सिताके च्याउको सम्भावनालाई समेत अझै बृहतर बनाउन सकिन्छ । यसरी नै स्वदेशमै सम्भावना देखेर सिताके च्याउको उत्पादन र विस्तारमा लागिरेहका र अन्य युवाहरुलाई समेत स्वदेशमै सम्भावना खोज्न उत्साहित गरीरहेका दामोदर जमकटेललाई हाम्रो पनि शुभकामना ।