८१ वटा उन्नत जातका बाच्छाबाच्छी सिन्धुलीको कमलामाई नगरपालिकालाई हस्तान्तरण

निराज रानाभाट

सिन्धुली : सिन्धुली जिल्लाको कमलामाई नगरपालिकालाई ८१ वटा कोरली बाच्छीहरू हस्तान्तरण गरिएको छ । दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भरता हाँसिल गर्ने राष्ट्रिय लक्ष्यमा सघाउ पुर् याउन दक्षिण कोरियाबाट नेपाल सरकारलाई वस्तुगत सहायतामा प्राप्त हुने उच्च आनुवांशिक क्षमताका १ सय २१ बाच्छाबाच्छीमध्ये पुस ०९ गते , शनिबार ती कोरली बाच्छीहरू हस्तान्तरण गरिएको हो ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र उप-मेयर मन्जु देवकोटालाई निःशुल्क रूपमा ती बाच्छाबाच्छी हस्तान्तरण गरिएको हेफर इन्टरनेशनलले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशुसेवा विभागले माग गरेअनुसार हेफरले यी बाच्छाबाच्छी उपलब्ध गराएको हो । बाच्छाबाच्छी सबै ६ देखि ९ महिनाका छन् । शुद्ध होल्स्टेन जातिका भनिएका ती बाच्छी डेढ वर्षपछि ब्याउन योग्य हुने छन् र एउटा ब्याएको गाईले दैनिक ३० लिटर दूध दिने बताइएको छ ।

यसअन्तर्गत हेफर इन्टरनेशनल नेपाल र हेफर इन्टरनेशनल कोरियाले प्रविधिसहित कोरियाबाट होल्स्टेन जातका बाच्छाबाच्छी आयात गर्न सहजीकरण गर्दै आएका छन् । हेफर इन्टरनेशनल नेपालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सहकार्य गर्दै आएको छ । नेपालमा पहिलोपटक जङ्गबहादुर राणा प्रधानमन्त्री हुँदा उन्नत जातका पशु आयात गरिएको थियो । त्यसपछि उच्च आनुवंशिक क्षमताको पशुधनको यो आयात हालसम्मकै ठूलो परिमाण हो ।

यससँगै हेफरले नेपाल सरकारलाई उन्नत जातकाे ५ हजार डोज सिमेन ( वीर्य ) पनि उपलब्ध गराउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र हेफर इन्टरनेशनल नेपालको संयुक्त रणनीतिक पहलअन्तर्गत नेपालको दुग्ध क्षेत्रलाई रूपान्तरण गर्ने लक्ष्य लिएको छ । यसले नेपालको आर्थिक समृद्धिमा पनि सहयोग पुर्याउने विश्वास लिइएको छ । नेपालमा ५० लाख परिवार डेरी पेशामा आबद्ध रहेका छन् । जसले ठूलो रोजगार सिर्जना गरेको बताइन्छ ।

अहिलेसम्म ल्याइए ६३ वटा बाच्चाबाच्छी हेफर इन्टरनेशनल कोरिया र हेफर इन्टरनेशनल नेपालको समन्वयमा हालसम्म ६३ वटा बाच्चाबाच्छी नेपाल ल्याइएको छ । जसमध्ये ६ वटा साँढे र ५७ वटा कोरली बाच्छीहरू रहेका छन् । डिसेम्बर २२ मा ६ वटा साँढे र ३६ वटा बाच्छी नेपाल ल्याइएको थियो भने २३ डिसेम्बरमा २१ वटा कोरली बाच्छी ल्याइएको हो । अब २५ डिसेम्बर र २८ मा थप साँढे र बाच्छी नेपाल ल्याउने योजना रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह – सचिव / प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।

यसरी भित्र्याइएका उच्च उत्पादन क्षमता भएका पशुहरूको सही सदुपयोगका लागि सम्बन्धित स्थानीय तह , प्रदेश र संघीय सरकारका निकायहरूको समन्वय र सहकार्य आवश्यक रहेको मन्त्रालयले जनाएको छ । बुल मदर्सका रूपमा देशका विभिन्न ठाउँमा राखिनेछन् बाच्चाबाच्छी नेपाल सरकारलाई वस्तुगत सहायतामा प्राप्त भएका पशुहरूमध्ये ७ वटा कोरली बाच्छीहरू राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम चितवनमा , ४ वटा गाई आनुवांशिक स्रोत केन्द्र जिरी र ९ वटा राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरामा राखिने छ ।

साँढेहरू कृत्रिम गर्भाधानका लागि वीर्य उत्पादन गर्न राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरा र लहानमा राखिनेछ । यसरी पालिने कोरली बाच्छीहरू दूध उत्पादन र उच्च क्षमताका बाच्छाबाच्छी उत्पादन प्रयोजनका लागि बुल मदर्सका रूपमा रहने मन्त्रालयले जनाएको छ । कोरली बाच्छीहरू हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि रहेका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले सिन्धुलीको कमलामाई नगरपालिका दुग्ध उत्पादनमा मोडलका रूपमा विकास होस् भन्ने अपेक्षा राखे ।

सरकारले यस कार्यक्रममा निरन्तर निरीक्षण गरेर पशु स्वास्थ्य र गुणस्तरमा अभिवृद्धि गर्ने तथा कृषकहरूलाई देखाउन स्रोतकेन्द्रका रूपमा विकास गरिने उनको भनाइ छ । यस्तै , कृषि तथा पशुपन्धी विकास मन्त्रालय,सिंहदरबारका सचिव डा.दीपककुमार खरालले जुनार उत्पादन हुने जिल्लाका रूपमा परिचित सिन्धुली अब डेरी उत्पादनको नमूना जिल्ला बन्ने विश्वास व्यक्त गरे । कृषि र पशुपालनलाई नगरले प्राथमिकतामा पारेको भन्ने तर बजेटमा भने प्रथमिकीकरण नगरेकामा उनको गुनासो थियो । त्यस्तै , कमलामाईका मेयर पोखरेलले कृषि , पशुपालन र दूधमा आत्मनिर्भर बनाउने संस्थाले थालेको प्रयास प्रसंशनीय भएको बताए ।

हेफरको सहयोगलाई नगरले अवसरका रूपमा लिएर नगरलाई दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन प्रयास थाल्ने उनको भनाइ छ नेपाल दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले नेपाललाई दूधमा आत्मनिर्भर हुने दिन नजिकिँदै गएको बताए । नेपाल कृषि अनुसन्धान विभागका कार्यकारी निर्देशक दोजराज खनाल , पशु सेवा विभागकी कार्यकारी निर्देशक सम्झनाकुमारी काफ्लेलगायत सरोकारवालाहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।