देविका बन्दना र कुमार सानुको स्वरमा ‘तिम्रो मायाको सागरमा सार्वजनिक(भिडियोसहित )

काठमाडौं : लोकप्रिय गायिका देविका बन्दना आफ्ना नयाँ यूगल गीतमार्फत दर्शक तथा स्रोतामाझ आएकी छन् । आज काठमाडौंमा सार्वजनिक गरिएको ‘तिम्रो मायाको सागरमा…’ गीतमा गायिका बन्दनासंगै बलिउडका सुप्रसिद्ध गायक कुमार सानुको स्वर सुन्न सकिन्छ ।

यो मेलोडियस गीतलाई सन्तोष श्रेष्ठले संगीतबद्ध गरेका हुन् भने शब्दहरु गीतकार सुरेन्द्र महर्जन ‘अमर’ले रचना गरेका हुन् । राजु कार्की यो गीतका संगीत संयोजक हुन् ।

गीतमा समावेश कुमार सानुको स्वर मुम्बईको कैलाशा स्टुडियोमा साउण्ड इन्जिनियर तथा रेकर्डिष्ट निरोज सिंहले रेकर्ड गराएका हुन् भने देविका बन्दनाको स्वर काठमाडौंको अकेष्टिक स्टुडियोमा गरिएको हो । दीप तुलाधरले गीतको मास्टरिङ गरेका हुन् ।

दरबारमार्गस्थित राइजिङ मलमा आयोजित गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने समारोहमा गायिका देविका बन्दनालाई शुभकामना व्यक्त गर्न गायिका संगीता राना प्रधान, अभिनेत्रीहरु शर्मिला मल्ल, वसन्धुरा भुसाल, निर्देशक मिलन चाम्स, गायक सचिन रौनियार, निर्देशक रोशन कुमार आदि उपस्थित थिए ।

गायिका देविका बन्दनाले गीतकार सुरेन्द्र महर्जन अमरका प्रेमिल शब्दहरुलाई सन्तोष श्रेष्ठको जादूमय संगीतले कर्णप्रिय बनाएको बताइन् । ‘हामीले निकै मेहनत गरेर यो गीत तयार पारेका छौं, गीत रोमान्टिक शैलीको बनेकाले भिडियोमा रोमान्टिक जोडीलाई नै अभिनय गराउनु पर्छ भन्ने लागेर प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडीलाई अभिनय गराइएको हो, गायिका देविका बन्दनाको भनाइ छ ।

गीतको म्युजिक भिडियोमा अभिनेता आयुष्मान देशराज जोशी तथा अभिनेत्री प्रियंका कार्कीको रोमान्टिक जोडीलाई प्रस्तुत गरिएको छ ।भिडियो हेरेपछि प्रतिक्रिया दिँदै अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक गीत सुन्न बित्तिकै यसमा काम गरौं, गरौं भएको बताइन् ।

अभिनेता आयुष्मान देशराज जोशीले पनि गीतको मेलोडीले आफूलाई तानेको बताए । भिडियोमा काम गरिरहँदाको क्षण शब्दमा व्यक्त गर्नै नसकिने रोमाञ्चक रहेको अभिनेत्री प्रियंकाको भनाइ छ ।

निर्देशक निकेश खड्काले गीतको भाव अनुसार आयुष्मान र प्रियंकाको जोडीलाई अभिनय गराएका छन् । भिडियोमा उनीहरुको केमेष्ट्रि निकै आकर्षक देखिएको छ ।

गीत सार्वजनिक समारोहमा उपस्थित अधिकांश कलाकार तथा सञ्चारकर्मीहरुले गीतको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

गायिका देविका बन्दनाको यूट्युबबाट सार्वजनिक गरिएको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने विकास धमला यो भिडियो सम्पादक हुन् ।

भिडियो :