वीरगञ्ज महानगरले नगरबासीको ३० युनिटसम्मको विजुली महसुल तिरिदिने

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत खपत गर्ने नगरबासीको महशुल तिरिदिने भएको छ । महानगरले बिहीबार नेपाल विद्युत प्राधिकरणको वीरगञ्ज र सिमरा वितरण केन्द्रसँग नगरवासीको ३० युनिटसम्मको महसुल तिर्ने विषयमा सम्झौता गरेको छ ।

सम्झौता पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र प्राधिकरणको तर्फबाट वीरगञ्ज केन्द्रका प्रमुख जितेन्द्र झा र सिमरा केन्द्रका प्रमुख रामु श्रेष्ठले हस्ताक्षर गरेका छन् । महानगरको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा ११ औं नगरसभाबाट स्वीकृत बजेट तथा कार्यक्रम अनुसार महानगरका नागरिकलाई विद्युत उपभोग महशुल अनुदान दिन सम्झौता गरिएको जानकारी गराइएको छ ।

सम्झौता अनुसार महानगर क्षेत्रभित्रका ग्रार्हस्थ (घरेलु) मिटरमा ५ र १५ एम्पीअरको एमसीबी प्रयोग गरी अधिकतम ३० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकको विद्युत महशुल र न्यूनतम मासिक महशुल, सिंगल फेज कृषि मिटर प्रयोग गर्ने ग्राहकको मासिक विद्युत महशुल वीरगञ्ज महानगरले तिर्नेछ ।

त्यसका लागि महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणको खातामा पेश्की स्वरुप अग्रिम रकम भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ । यो सुविधा लिन उपभोक्ताले १ पुस अघिसम्मको सबै महसुल तिरेको हुनुपर्नेछ ।

यो योजनाबाट दुवै वितरण केन्द्रमार्फत सेवा लिइरहेका ७ हजार ८२२ जना सेवाग्राही र ४६८ वटा कृषि मिटर प्रयोगकर्ता लाभान्वित हुनेछन् । यसमा सिमरा वितरण केन्द्रबाट कृषि मिटर लिएकाहरुको संख्या थपिने महानगरले जनाएको छ ।

‘अधिकतम ३० युनिटसम्म विद्युत प्रयोग गर्ने ग्राहकले सेवा पाउने हो, चिसोमा विद्युत कम खपत हुँदा यस्ता लाभग्राही बढ्न सक्छन्, गर्मीमा पंखा चल्ने हुँदा लाभग्राही घट्न सक्छन्’ प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले भने, ‘३० युनिट भन्दा बढी विद्युत खपत हुनेवित्तिकै लाभग्राहीको सूचीमा पर्दैनन् ।’

गत वैशाखमा निर्वाचित भएपछि मेयर राजेशमान सिंहले महानगर क्षेत्रमा घरेलु मिटर प्रयोग गर्दै आएका ग्राहकको मासिक ३० युनिटसम्मको विजुली महसुल तिर्ने घोषणा गरेका थिए । त्यस्तै कृषि सिँचाइका लागि लिइएको ७० वटा सिंचाइ मिटरमा उठ्ने सम्पूर्ण शुल्क भुक्तानीको दायित्व साउन १ गतेदेखि महानगरपालिकाले व्यहोर्ने निर्णय गरेका थिए ।

मेयर राजेशमान सिंहले चुनाव अघि गरेको वाचा पूरा गर्न प्राधिकरणसँग सम्झौता गरिएको बताए । ‘जनताको सामुन्नेमा प्रतिवद्धता जनाएका थियौं, ३० युनिटसम्मको न्युनतम महशुल र ईनर्जी चार्ज अनि कृषि मिटरको सम्पूर्ण महशुल तिर्छौ’, उनले भने, ‘त्यसलाई पूरा गर्ने बाटोमा अग्रसर भएका छौं ।’