संसदीय दलको चुनावपछि छलफल गरौंला : देउवा

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले शक्ति बाँडफाटका विषयमा छलफल गर्न चाहेको तर देउवाले कांग्रेस संसदीय दलको नेता चयन हुने बेलासम्म पर्खिन आग्रह गरेको स्रोतले बताएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड अहिलेकै गठबन्धनको नेतृत्वमा सरकार बनाउन र पहिलो पालोमा आफू प्रधानमन्त्री हुन चाहेका छन् । त्यसका लागि राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता प्रमुख पदको भागवण्डाबारे छलफल गर्न चाहन्छन् ।

सम्भवतः कांग्रेस संसदीय दलको नेता चयनका लागि आगामी साता निर्वाचन हुनेछ । देउवा भने त्यसअघि शक्ति बाँडफाँटबारे छलफल गर्न नचाहेका उनी निकट स्रोतले बताएको छ । कांग्रेसमा संसदीय दलको नेता जो चयन हुन्छ, पार्टीले सरकारको नेतृत्व गरेको अवस्थामा उही नै प्रधानमन्त्री बन्ने प्रचलन छ ।