काठमाडौ : बृहत रक्तदान कार्यक्रममा ८१ जना रक्तदाताले दिए रगत (फोटोफिचर)

काठमाडौ :  विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । माग भन्दा रगतको आपुर्ति कम हुने हुँदा शहरमा सधैं रगतको अभाव हुने गर्दछ । विज्ञानले हाल सम्म कृतिम रगतको आविष्कार गर्न नसकेको अवस्थामा मानवद्धारा गरिने रक्तदान नै रगतको एक मात्र विकल्प रहेको छ ।

रगतको यो अभावलाई केहि हद सम्म कम गर्ने उद्देश्यले रोटरी क्लव अफ राजधानी, रोटरी क्लव अफ बानेश्वर, रोट्रयाक्ट क्लव अफ राजधानी, रोट्रयाक्ट क्लव अफ बानेश्वर रोयल, देउराली क्लव, टिम नेपो ललितपुरको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको रोटरी क्लव अफ राजधानीका प्रिसिडेन्ट निश्चल बहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त रक्तदान कार्यक्रम रोटरी क्लव अफ राजधानीका सर्भिस प्रोजेक्ट कमिटिका अध्यक्ष देवेन्द्रलाल श्रेष्ठले रक्तदान गरेर शुभारम्भ भएको थियो, उनको यो ४४ औं रक्तदान भएको र १३ वर्षको उमेरमा रक्तदान सुरु गरेको बताउँदै रोट्रयाक्टका भाईबहिनीहरुलाई रक्तदान गर्नको लागि हौसला प्रदान गरेका थिए ।

काठमाडौको नयाँबानेश्वर पार्कमा विहान ११ बजे देखि दिउँसो ४ बजे सम्म भएको उक्त बृहत रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, केन्द्रिय रक्तसंचार सेवाको प्राविधिक सहयोग तथा फेरबेस स्प्रिङ, नेचुरल स्प्रिङ वाटर, काठमाडौ महानगरपालिका वडा नं १०, नेपाल पुञ्पाञ्जली शिक्षालयको अन्य विविध सहयोग रहेको रोट्रयाक्ट क्लव अफ राजधानीका प्रिसिडेन्ट कर्म गुरुङले जानकारी गराए । उक्त रक्तदान कार्यक्रममा आयोजक संस्थाहरुका सदस्यहरु, सामुदायिक प्रहरी, ट्राफिक प्रहरी तथा बाटोमा आवतजावत गर्ने सर्वसाधरण समेतले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा ९७ जना रक्तदाताले आफ्नो नाम दर्ता गराएकोमा धेरै इच्छुक रक्तदाताहरुको उच्च रक्तचाप तथा स्वास्थ्यको अन्य कारणले गर्दा रक्तदान गर्न नसकेको, ८१ जनाको रक्त संकलन गरि नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त संचार सेवालाई हस्तान्तरण गरेको रोटरी क्लव अफ बानेश्वरका सर्भिस प्रोजेक्ट कमिटिका अध्यक्ष अमर सिंह थापाले बताए ।

रोटरी क्लवहरु, रोट्रयाक्ट क्लवहरु तथा अन्य संघसंस्थाको आयोजनामा सम्पन्न बृहत रक्तदान कार्यक्रममा ८१ जना रक्तदाताहरुको रगत संकलन भएकोमा नेपाल रेडक्रस सोसाइटी, केन्द्रिय रक्तसंचार सेवाका निर्देशक दिव्य राज पौडेलले खुसी व्यक्त गरेका छन् ।

काठमाडौ महानगरपालिका वडा नं. १० र अन्य विभिन्न सामाजिक संस्थाको अगुवाईमा भएको यो मानवीय कार्यको सहना गर्दै उनले नियमित रुपमा रक्तदान कार्यक्रम संचालन गर्न अनुरोध गर्दै नेपाल रेडक्रस सोसाइटी, केन्द्रिय रक्तसंचार सेवा सधैं सहयोगको लागि तत्पर रहेको बताए ।

उक्त बृहत रक्तदान कार्यक्रममा महिला रक्तदाताहरुको पनि उल्लासपूर्ण सहभागिता रहेको थियो भने पहिलो पटक रक्तदान गर्ने रक्तदाताहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । पहिलो पटक रक्तदान गर्ने रक्तदाताहरुले आगामी दिनहरुमा नियमित रुपमा रक्तदान गर्ने बताएका छन् ।

उक्त वृहत रक्तदान कार्यक्रमको प्रचार प्रसारमा रेडियो सिटी एफ.एम. ९८.८, इमेज एफ.एम. ९७.९, . भिजन न्युज नेपाल डट कम तथा रोजगार मिडिया प्रा.लि.को सहकार्य रहेको थियो ।