नेपाली चलचित्र ` महापुरुष ´५० औँ दिनमा

निराज रानाभाट
काठमाडौं: गत कार्तिक ११ गतेबाट प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र महापुरुष आज पुस १ गते , शुक्रबार ५० औँ दिनमा प्रदर्शन भइरहेको छ । दर्शकले अत्यधिक रुचाएपछि यो चलचित्र देशभरका हलमा नियमित प्रदर्शन भइरहेको छ । विदेशमा पनि चलचित्रले राम्रो शो पाइरहेको छ । विदेशमा रहेका नेपाली दर्शकले समेत यस चलचित्रलाई चाख मानेर हेरिरहेका छन् ।

महापुरूष प्रदर्शनको आठौँ हप्तामा प्रवेश गर्दा निर्माण टोली पनि यसको सफलताबाट हौसिएका छन् । चलचित्रले राम्रो व्यापार दिएकोमा आगामी चलचित्र कस्तो बनाउने भनेर निर्माण टोली सोचमग्न बनेका छन् । निर्माण टोलीले दर्शकलाई मन पर्ने कथावस्तुमा आगामी फिल्म बनाउन तयारी गरिसकेको पनि बताएका छन् ।

भविष्य निर्माण गर्न अलग भइसकेको छोरा , सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ चलचित्रमा ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , गौरी मल्ल , राजाराम पौडेल , रवीन्द्र सिंह बानियाँ , शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा छन् ।

षट्कोण आर्ट्स प्रा.लि. को व्यानारमा निर्मित फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् , भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के , जात्रा र जात्रैजात्रा फिल्म निर्माण गरिसकेको छ ।

चलचित्रमा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रूपमा फिल्ममा डेब्यु गरेका छन् ।

फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य तथा शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ , रंग संयोजनमा कपील पराजुली , मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स , पब्लिसिटी डिजाइन ट्राइडेन्ट , सहायक निर्देशक शान्ति कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन् ।