

सोलुखुम्बु : पर्यटकीय क्षेत्रको आम्दानीमा हिमाल आरोहणको ठुलो हिस्सा रहेको छ । आर्थिक सर्वेक्षण २०७८७९ का अनुसार ६३ करोडभन्दा बढी रकम रोयल्टी उठेको छ। कोभिड महामारीका कारण खुम्चिएको यो तथ्यांक हो भने त्यसअघि अर्बौं रकम उठ्ने गरेको थियो। तर, पर्यटक तान्ने, राजस्व बढाउने र पानीका स्रोत हाम्रा हिमाल कति सफा छन् त ? भन्ने जिज्ञासा अचेल धेरैतिरबाट उठ्ने गरेको छ ।
कानूनमा के छ ?
पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम २७ को उपनियम १ मा नष्ट गरिन सकिने फोहोरमैला, पुनः प्रशोधन गर्न सकिने र पुनः निकासी गर्न सकिने फोहोरमैला भनेर बर्गिकरण गरिएको छ । पुनः प्रशोधन गर्न सकिने फोहोरमैला काठमाडौं ल्याई सरकारले तोकेको निकाय वा संस्थामा बुझाउने व्यवस्था गरिएको भने पुनः निकासी गर्नु पर्ने फोहोरमैलालाई पर्वतारोही दलले आफ्नो देशमा नै लैजानु पर्ने नियम रहेको छ ।
नष्ट हुने फोहोरमा ट्वाइलेट पेपर, पेपर, कार्डवोर्ड, बाँसबाट बनेका सामग्री, सुती तथा जुटका झोला, विघटन गर्न सक्ने खाना रहेको छ । पुनः प्रशोधन गर्ने फोहोरमा टिन, बोतल, प्लास्टिक क्यान तथा सिट, पुनः प्रयोग गरिने ग्यास सिलिन्डर लगायत पर्छन् र पुनः निकासी गर्ने फोहोरमा अक्सिजन बोतल, ब्याट्री, पर्वतारोहणका लागि प्रयोग हुने सामग्रीहरू पर्छन् । हिमाल सरसफाइका लागि सरकारले वार्षिक ८ देखि १० करोडसम्म बजेट विनियोजन गर्ने गरेको छ ।
सर्वोच्च शिखर सगरमाथाको आरोहण शुरू भएयता झण्डै तीन सय आरोहीले सगरमाथामा ज्यान गुमाएकामा दुई तिहाइ अझै त्यहीँ बरफ र हिउँमा पुरिएको ठानिएको छ । दिवङ्गत आरोहीका शव, आरोहण गर्दा लगाउने पोसाक र जुत्ता, अक्सिजन र ग्यासका सिलिन्डरजस्ता उपकरण हिउँ पग्लिँदा देखिने र अरू बेला छोपिने गरेको पर्वतारोही छिरिङ जाङ्बु शेर्पाले बताए ।
सन् १९९० को दशकमा सगरमाथाको फोहरमैलाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचारसामग्री छापिन थालेपछि मात्र विभिन्न सफाइ अभियान हुन थालेको हो ।
यसै विच रोटरी क्लव अफ राजधानीको पब्लिक इमेज कमिटीको सक्रियतामा सोलुखुम्वु जिल्लामा अवस्थित ६११९ मिटर उचाईको लोबुचे हिमालका विभिन्न भागमा छरिएको करिव तीन शय किलो फोहोर संकलन तथा व्यवस्थापन गरिएको छ । रोटरी क्लव अफ राजधानीको २०२२ २३ को पब्लिक इमेज कमिटी अन्तर्गतको वार्षिक कार्यक्रममा समावेश माउन्टेन क्लिनअप क्याम्पियन २०२२ अन्तर्गत सो हिमाल सरसफाई गरिएको कमिटीका अध्यक्ष उत्तम बावु भट्टराईले बताए । हिमाल आरोहणमा विभिन्न विश्वकिर्तिमान कायम गरेका रोटरियन छिरिङ जाङ्बु शेर्पाको नेतृत्वमा एभरेष्ट शेर्पा एक्सपिडिशन र अल्पाइन शेर्पा गाइड ट्रेक्स एण्ड एक्सपिडिसनको व्यवस्थापनमा उक्त हिमाल सरसफाई गरिएको हो ।
क्लवका प्रिसिडेन्ट निश्चल बहादुर श्रेष्ठले हिमाल नै हाम्रो पहिचान र सान भएको तथा हिमाल नेपालको आम्दानीको मुख्य हिस्सा समेत भएकोले हिमालको संरक्षण, संवर्धन र सरसफाईमा हामी सबैको उत्तिकै जिम्मेवारीबोध गरि आफ्नो कार्यकालमा हिमाल सरसफाईलाई एउटा महत्वपूर्ण योजनामा राखेको र सोहि योजना मुताविक लोबुचे हिमाल सरसफाई गरिएको तथा आगामी दिनमा सम्भव भए सम्म अन्य हिमालहरु पनि सरसफाई गर्ने बताए ।
सन् १९५३ मा नेपाली नागरिक तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि नेपालको पर्वतारोहणमा संसारको ध्यान तानिएको थियो। त्यसपछि बर्सेनि हजारौंले हिमाल आरोहण गर्दै आएका छन् ।
