‘बालविवाह अन्त्य गर्ने जिम्मेवारी कुनै संस्था वा निकायको मात्र होइन, सबैको दायित्व हो’

बालविवाह अन्त्य गर्नका लागि क्रियाशील देशैभरीका सातै प्रदेशबाट छानिएर आएका युवाहरू ललितपुरको गोदावरीमा भेला भएका छन् । यस राष्ट्रिय भेलाको आयोजना र व्यवस्थापन गर्ने काम गरेको छ, बालविवाह अन्त्यका लागि संगठित सामाजिक संस्थाहरूको सञ्जाल बालिका दुलहि होइनन् राष्ट्रिय सञ्जाल (जीएनबी) ले ।

सञ्जालले विभिन्न अभियानमार्फत नेपालमा बाल अधिकारको सुनिश्चितता र बालविवाह अन्त्यका लागि काम गर्दै आइरहेको छ । यसै सन्दर्भमा जीएनबीका राष्ट्रिय संयोजक निरिजना भट्टसँग राष्ट्रिय भेलाको औचित्य, नेपालमा बालविवाह अहिलेको अवस्था र भइरहेका प्रयासहरूका बारेमा भिजन न्युज नेपालले  गरेको संक्षिप्त कुराकानी :

 

जीएनबीले राष्ट्रिय युवा परामर्श भेला आयोजना गर्नुको उद्देश्य के हो ?
साथै प्रदेशबाट प्रतिनिधित्व गरेर आएका युवाहरूसँग अहिले हामी अन्तरक्रिया गरिरहेका छौं । यो गर्नुको मुख्य कारण भनेको नेपालमा बालविवाह अन्त्य गर्ने सन्दर्भमा सामाजिक संघसंस्थाहरुले सोचेको र किशोरकिशोरी तथा युवाले सोचेका कुरा फरक हुन सक्छ । तसर्थ, त्यसको वस्तुस्थिति गहिराइमा बुझ्नका लागि र युवाहरूको अपेक्षासंग सामाजिक संस्थाहरूको कार्यक्रमको तादाम्यता मिलाउनका लागि जीएनबीले राष्ट्रिय युवा परामर्श भेला आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रम, सामूहिक छलफल र विषय विज्ञहरूको सत्र मार्फत बालविवाह सँग जोडिएका विभिन्न विषयमा छलफल र परामर्श भइरहेको छ । हामीले सोही अनुरूप देशभरबाट युवाहरू भेला गरेका छौँ, जसमा सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरि १ हजार ३३ जनाबाट ३० जना छनोट गरेका छौँ ।

उमेर २० वर्ष नाघेपछि मात्र विवाह गर्न पाइन्छ भन्ने जुन कानुनी दायरा छ, यसको चेतना देशभरका युवा युवतीमाझ पुग्यो कि पुगेन? बालविवाह किन भइरहेको छ, यसको जड के हो र अब किशोरकिशोरी तथा युवाको भूमिका के ?

बालविवाहको बारेमा पहिला जस्तो सोच थियो त्यस्तै सोच छ कि छैन भनेर बुझ्नका लागि यो अन्तरक्रिया कार्यक्रम राखेका हौँ ।
हामीले छनोट गरेका ३० जना युवाहरूले पनि बालविवाहको विरुद्ध कस्तो काम गरिरहनुभएको छ ? साँच्चै नै त्यो प्रभावकारी भइरहेको छ कि छैन बुझ्नका लागि पनि हामीले यो युवा भेला गरिरहेका छौँ । किशोरकिशोरी, युवा, विभिन्न सामाजिक संघसंस्थाहरु र सरकारी संयन्त्रबाट बालविवाह अन्त्यका लागि भइरहेका कार्यक्रम तथा अभियानको समीक्षा पनि हामीले यो भेलामा गर्नेछौं ।

बालविवाह अन्त्यका लागि राष्ट्रिय युवा परामर्श भेला फलदायी होला ?

यसबेलाबाट हामीले गरेको ठूलो अपेक्षा चाहिँ जसले नीति बनाइरहनुभएको छ त्यसलाई फरक तरिकाबाट बनाउनु पर्ने हो कि, जस्तो किसिमको कार्यक्रम तथा अभियानहरू सञ्चालन भइरहेका थिए त्यसभन्दा फरक किसिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको छ कि, र यतिधेरै अभियानहरु सञ्चालन गरिँदा पनि कस्ता कारणले कम उमेरमै विवाह भइरहेको छ भन्ने बुझ्न पनि यो कार्यक्रम सञ्चालन गरिएको हो । तसर्थ, जसले नीति निर्माण तहमा काम गरिरहनुभएको छ उहाँहरूलाई महत्वपूर्ण सुझावहरु दिनका लागि पनि यो कार्यक्रम अर्थपूर्ण हुनेछ भन्ने हाम्रो विश्वास छ । हामीले सञ्चालन गरिरहेका कार्यक्रमहरूको परिमार्जन गर्नका लागि पनि यो भेलाले मार्ग निर्देशन गर्नेछ ।

एउटा सानो उदाहरण; पहिला बुबाआमाको करकापमा बालविवाह हुन्थ्यो भने अहिले बालबालिका आफैँले विवाह गर्ने चलन बढेर गएको छ । पहिलाका कारण र कहिले कारणहरूमा जसरी परिवर्तन हुँदै आएका छन् त्यसैगरी हाम्रो योजना छ अभियानहरु मा पनि परिवर्तन हुनु आवश्यक छ । यी विषयवस्तुमा सबै सरोकारवाला पक्षले बुझ्न, जान्न जरूरी छ । त्यसैले हामीले नै बालविवाहको मूल जड पत्ता लगाउनका लागि र सरोकारवाला पक्ष नै सचेत हुनका लागि यो कार्यक्रम गरिएको छ । त्यस्तै बालबालिकाको क्षेत्रमा नीति नियम बनाइरहेको निकायलाई पनि हामी बीचको अन्तरक्रियाबाट संकलन भएका सुझावहरू दिनका लागि पनि हामीले यो अन्तरक्रिया गरिरहेका छौँ ।त्यसबाहेक पनि हामीले काठमाडौंबाट युवा सरोकारका विषयमा कुराहरू गरिरहँदा, आवाज उठाइरहँदा देशका सातवटै प्रदेशमा रहेका जिल्लाहरूमा हामीले सोचेजस्तो परिवेश छ कि छैन ? भन्ने जिज्ञासाको निर्क्यौल निकाल्न पनि हामीले यो कार्यक्रम गरिरहेका छौँ ।

राष्ट्रिय युवा परामर्श भेलाका लागि समय सिमित भएतापनि हामीसँग बालविवाह अन्त्य गर्ने सन्दर्भमा कैयौं मुद्दाहरुमा खुलेर बहस गर्नुपर्नेछ तसर्थ यो भेला फलदायी हुनेछ भन्नेमा सञ्जालका सदस्य संस्थाहरु र यस संजालको राष्ट्रिय संयोजकका रुपमा म पूर्ण विश्वस्त छु ।

स्थानीय निकायले बालविवाहको विरुद्धमा आफ्नो क्षेत्रमा रहेका किशोर किशोरी तथा युवाको परिचालन कसरी गर्नुपर्दछ ?

मलाई एउटा दुःख लाग्ने कुरा चाहिँ, दशक अगाडिसम्म जसरी बालक्लब, किशोरकिशोरी समूह तथा युवा समूहहरू सक्रिय थिए अहिले त्यो सक्रियतामा कमी आएको हो की भन्ने महसुस भएको छ, यद्यपि यसका पछाडिका विभिन्न कारणहरु अवश्य छन् ।

अबका दिनमा प्रत्येक स्थानीय तहले अनिवार्यरूपमा किशोरकिशोरी समूह, बालक्लब गठन गर्नुपर्यो यस्ता क्लबहरूलाई सशक्त बनाउनु पर्यो ।उमेर नपुगी म विवाह गर्दिन भन्न सक्ने बनाउनुपर्यो ।
किनभने विवाह नगर भन्न सहज छ तर विवाह गर्दिन भन्न हाम्रो परिवेशमा गार्हो छ । त्यसैले स्थानीय तहले आफ्ना क्षेत्रमा भएका किशोर किशोरीहरूलाई सशक्त बनाउन आवाज उठाउन सक्ने बनाउन पहरेदारी गरिदिन पर्यो । सन् २०३० सम्म बालविवाह अन्त्य गर्छौँ भनेर हामीले प्रतिबद्धता गर्दै हस्ताक्षर गरेका छौँ ।

जब स्थानीय तहले हातेमालो गर्दै गर्नुहुन्छ तब बालविवाह अन्त्य हुने कामले गति लिन्छ । स्थानीय तहको सक्रियताले नै धेरै ठाउँहरूमा बालविवाह अन्त्य भएको हामीले देखेका छौँ । स्थानीय तहले बालविवाह अन्त्य गर्ने अभियान मेरो हो भनेर जब स्वामित्व लिन्छ तब विभिन्न सामाजिक संस्थाहरुले पनि सहयोग गरेर निकट समयमै बालविवाह अन्त्य गर्न सकिन्छ । अहिले पनि नेपालको परिवेशमा प्रजनन स्वास्थ्यको कुरा हुँदैन गरिँदैन तर जब यी विषयलाई सहज रूपमा सबैमाझ पुर्याउन स्थानीय तह लाग्छ तब हामीले चालेको अभियानले सफलता पाउँछ ।

अहिले बालविवाह अन्त्यका लागि भइरहेका अभियानहरु सकारात्मक बाटोमा छन् ?

नेपाल सरकारले, केही स्थानीय तहले विभिन्न संघसंस्था, जीएनबी लगायतका काम सकारात्मक दिशाउन्मुख छ । यी सरोकारवाला संघ संस्थाले गरेका कामका कारणले नै अहिले अभिभावक नै धेरै सचेत भएको भेटेका छौँ । हामीले नयाँ रणनीति ल्याउनु पर्ने आवश्यकता छ, काम गर्ने शैली परिवर्तन गर्नुपर्ने आवश्यकता छ होला तर हामीले सुरुवात गरेको अभियान भने सकारात्मक बाटोमा नै छ।
त्यसैले त अहिले पनि हामीसँग जोडिन आउने युवा, किशोरकिशोरी अभियन्ताहरु बालविवाह छिटो विवाह गर्नुहुन्न भनेर अरूलाई सिकाउन पनि आउनु हुन्छ, यस अभियानमा हजारौं लाग्नुभएको छ । यो हामीले गरेको कामको सकारात्मक नतिजा मान्नु पर्छ ।
जसरी दैलेखमा बुहारी, किशोरीहरू बालविवाहको विरोधमा उत्रिनु भएको छ अभियान चलाउनुभएको छ यसरी ठाउँ ठाउँबाट अभियान चल्नु नै हामी सरोकारवाला पक्षहरू सकारात्मक बाटोमा हुनु हो ।

जीएनबीले विशेष जोड दिएर अब कस्ता खालका कार्यक्रमहरु गर्नेछ ?

राष्ट्रिय सञ्जालसँगै बाल विवाह अन्त्यका लागि हामीसँग ग्लोबल नेटवर्क छ । यो नेटवर्कमा २१ वटा संस्थाहरू जोडिएका छन् जसले गरेका कामहरू हाम्रो लगानी र उपलब्धि हो । यस सञ्जाल भित्र रहेका २१ वटा संस्थाहरूको क्षमता वृद्धि गर्ने, बालबालिका सम्बन्धी नीति निर्माण गर्नका लागि सरकारलाई सघाउने, अगाडि बनाएका नीति निर्माणलाई कहाँ परिमार्जन गर्नुपर्ने हो त्यो पहिल्याएर सरकारसँग समन्वयकारी भूमिका निभाउने काम जीएनबीले गर्छ । त्यसबाहेक प्रदेश स्तरमा पनि बालबालिका सम्बन्धी नीति निर्माण गर्न सरकारलाई घच्घच्याउने काम पनि जीएनबीले गर्छ । सीमान्त मान्छेदेखि सरकारसम्म घचघच्याउन जीएनबीले काम गर्छ । बालविवाह अन्त्य गर्नका लागि जीएनबीले परामर्श, पैरवी, वकालत र अभियान निरन्तर गरिरहने छ । बालबालिकालाई पर्याप्त अवसर दिनु पर्दछ, बालविवाह तथा छिटो विवाह अन्त्य गर्न हामी प्रतिवद्ध भएर निरन्तर अभियान संचालन गरिरहेनेछौं ।

बालविवाह विरुद्ध तपाईंको अपिल के छ ?
सबैभन्दा महत्वपूर्ण कुरा भनेको जतिपनि संघसंस्था, सरकारी तथा गैरसरकारी निकायहरुले बाल विवाहविरुद्ध काम गरिरहनुभएको छ उक्त कामलाई परियोजना होइन अभियानका रुपमा अगाडि बढाउनु पर्दछ । र अब छरिएर होइन एकीकृत भएर बालविवाहविरुद्ध अभियान चलाउनु पर्दछ । कुनै व्यक्ति, प्रतिनिधि वा संस्थाले मात्र होइन बालविवाह रोक्नु भनेको हाम्रो जिम्मेवारी हो भनेर सबैले बोध गर्नु पर्दछ । नेपाल सरकारले पनि समय अनुसार नीति तथा कार्यक्रममा परिमार्जन तथा संशोधन गर्नुपर्दछ । बालविवाह बालबालिकाकासँग जोडिएका अरु थुप्रै समस्याको जरा हो तसर्थ यसलाई रोक्न बेग्लै रणनीति तथा अभियान बनाएर अगाडि बढ्नुपर्छ । अभिभावक, समुदायका लिडरहरूलाई आ-आफ्नो ठाउँबाट काम गर्न अनुरोध गर्छु ।
किशोरीले पनि म जबसम्म २० वर्ष पुग्दिनँ विवाह गर्दिन भनेर अठोट लिन अनुरोध गर्दछु । किशोरकिशोरीहरुले आफ्नो क्षमता विकास गर्नका लागि र अवसरहरु खोज्नका लागि समय सदुपयोग गर्नुहोला । जब सर्वपक्षीय पहल हुन्छ, निकट भविष्यमै बालविवाह/कम उमेरमा हुने विवाहको अन्त्य हुन्छ ।