दोलखा अपडेट : एमालेका शिवाकोटीले लिए अग्रता

दोलखा : दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई पछि पारेका छन् ।

आज बिहानको मत परिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार कार्की एमालेका शिवाकोटीभन्दा १४ सयभन्दा बढी मत अन्तरले पछि छन् । शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गर्दा कार्कीले १४ हजार ७१५ मत पाएका छन् । यसअघि मतगणना सुरु भएदेखि माओवादी केन्द्रका कार्कीले अग्रता लिएका थिए ।

मंसिर ४ गतेको निर्वाचनमा दोलखामा धाँधली भएको ठहर गर्दै निर्वाचन आयोगले मंसिर १५ गते पुनः निर्वाचन गराएको थियो ।

दोलखाको प्रदेशसभा–१ मा गठबन्धन अगाडि देखिएको छ । २ मा भने एमाले अगाडि छ । प्रदेशसभा–१ मा २९ हजार चार सय ९३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १४ हजार सात सय ५९ मत तथा एमालेका नरबहादुर श्रेष्ठले ११ हजार पाँच सय १७ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा–२ मा ३० हजार तीन मतगणना हुँदा एमालेका भरत केसीले १६ हजार तीन सय ३७ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका बर्मा लामाले १२ हजार ५८ मतका साथ पछ्याइरहेका छन् ।

जिल्लामा समानुपातिकतर्फ २३ हजार छ सय १६ मतगणना गर्दा एमालेले ९ हजार ३७३, कांग्रेसले ७ हजार ४३ र माओवादी केन्द्रले ३ हजार २४७ मत पाएका छन् । दोलखामा कुल ८५ हजार ३८८ मत खसेको थियो ।

दोलखामा कुल १ लाख ६१ हजार ४५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र ७ स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।