राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेका छौं: रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेको बताएका छन् ।

पूर्ण नतिजा आएपछि एउटा निर्णयमा पुग्ने उनको भनाइ छ । नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको बेला लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियालिरहेका छौं । निर्वाचनको पूर्ण नतिजा आएपछि निर्णयमा पुग्छौं ।’

पार्टी स्थापनाको केही महिनामै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाला कि नजाला भन्ने चासो छ । यसै सन्दर्भमा उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौं ।’