५ औं सातामा नेपाली चलचित्र ‘महापुरुष ’ : १० करोड बढी कमाई

निराज रानाभाट
काठमाडौं : निर्देशक प्रदीप भट्टराई निर्देशित चलचित्र ‘ महापुरुष ’ यति बेला ५ औं हप्तामा प्रदर्शनरत छ । गत कार्तिक ११ गते , शुक्रबारदेखि प्रदर्शनमा आएको यस चलचित्रलाई ५ औं हप्तासम्म आइपुग्दा पनि दर्शकको माया एवम् साथ उत्तिकै छ ।

लगातार ३२ औं दिनसम्म सफलताको साथ चलचित्र प्रदर्शन भएपछि चलचित्र टिमले मंसिर ११ गते, आइतबार (आज) राजधानी काठमाडौंमा मिडियाकर्मीसँग विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको छ । चलचित्रका सम्पुर्ण टिम र मिडियाकर्मीको उपस्थितमा केक समेत काटेर निर्माण टिमले खुशी साटेको छ । मिडियाकर्मीसँग बोल्दै चलचित्रले हालसम्म १० करोड १४ लाख ग्रस कलेक्सन गरेको निर्माता म्याक्स दिपेश खत्रीले बताए ।

महिनादिन सम्म पनि दर्शक एवम् मिडियाकर्मीको साथ अतुलनीय रुपमा पाएको भन्दै निर्माण टिमले धन्यवाद समेत ज्ञापन गरेको छ । ‘ महापुरुष ’ लाई दर्शकले दिएको मायाले थप अर्को चलचित्र निर्माण गर्ने आँट एवम् हौसला मिलेको निर्माण टिमले जनाएको छ । ‘ महापुरुष ’ मा प्रदीपको निर्देशनसँगै लेखन पनि रहेको छ । षट्कोण आर्ट्स प्रा.लि. को ब्यानरमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् , भने निर्माता दिपेश खत्री छन ।

चलचित्रका पोस्टर तथा पब्लिसिटी डिजाइनर रोयल भिमसेन हुन् । चलचित्रमा हरिवंश आचार्य , मदनकृष्ण श्रेष्ठ , गौरी मल्ल , रविन्द्र सिंह बानिया , अरुन क्षेत्री , अन्जना बराइली , राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।