बारा-१ मा एमाले-जसपा गठबन्धनको ‘क्लिन स्वीप’

वीरगञ्ज : नेकपा एमाले–जनता समाजवादी पार्टी (जसपा) गठबन्धनले बारा क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा र दुवै प्रदेशसभा सदस्य जितेको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टीबाट मधेश प्रदेशका सभामुख बनेका सरोज यादवले जसपा रोजेपछि लोसपा यो क्षेत्रमा कमजोर थियो । जसको फाइदा एमालेले उठाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको एक सिट एमालेले र प्रदेशसभाको एक सिट जसपाले जितेको छ ।

अच्युत ०७४ मा हारे, अहिले जिते

बारा–१ बाट प्रतिनिधिसभामा एमालेका अच्युत मैनाली निर्वाचित भए । खानेपानी मन्त्रीसमेत रहेका कांग्रेस नेता उमाकान्त चौधरीलाई ९ हजार १३९ मतान्तरले पराजित गर्दै अच्युत निर्वाचित भएका हुन् । अच्युतले ३९ हजार १९५ मत पाउँदा उमाकान्तले ३० हजार ५६ मत पाए ।

२०७४ मा एमाले र नेकपा माओवादी केन्द्र मिलेर चुनाव लड्दा अच्युतलाई उमाकान्तले पराजित गरेका थिए । पाँच वर्षपछि अच्युतले जसपाको साथ पाएपछि उमाकान्तको संसदीय यात्रा रोक्न सफल भए ।

त्रिलोकी र सरोज प्रदेश सभामा दोहोरिए

शुक्रबार सार्वजनिक मतपरिणाम अनुसार बारा–१ को प्रदेशसभाका दुई क्षेत्रमा एमालेका त्रिलोकी चौधरी र जसपाका सरोज यादव विजयी भएका छन् । बारा–१ (१) मा त्रिलोकीले कांग्रेसका रमेश दंगाललाई २ हजार ५२८ मतान्तरले पराजित गरे । त्रिलोकीले १६ हजार ७९८ र रमेशले १४ हजार २७० मत पाए ।

बारा–१ (२) मा जसपाका उम्मेदवार सरोज यादव ४ हजार ८८७ मतान्तरले निर्वाचित भए । उनले १५ हजार ९२७ मत पाए भने कांग्रेसका नागेन्द्रप्रसाद साह कलवारले ११ हजार ४० मत पाए ।

सत्ता गठबन्धनमा रहेका दल कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच मित्रवत प्रतिस्पर्धा भएको यो क्षेत्रमा माओवादीले कांग्रेसका नागेन्द्रलाई समर्थन गरेको थियो ।

२०७४ को चुनावमा राजपाबाट चुनाव जितेका सरोजलाई तत्कालीन संघीय समाजवादी फोरम नेपालको पनि साथ थियो । नेपाल सद्भावना पार्टीमा लामो समय राजनीति गरेका उनी राजेन्द्र महतोसँगै राजपामा थिए ।

राजपा र समाजवादी पार्टी मिलेर जसपा बनेको थियो । जसपा विभाजनपछि धेरै दिनसम्म उनी जसपामा कि लोसपामा खुलेका थिएनन् । चुनावको मिति घोषणा भएपछि जसपामै रहेको बताएका थिए । नभन्दै जसपाबाट प्रदेश सभा सदस्यको टिकट लिएर चुनावी मैदानमा उत्रिए । एमालेको साथ लिएर प्रदेश सभामा दोहोरिन पनि सफल भए ।