काठमाडौं-५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित, ईश्वर पोखरेलले दिए बधाई

काठमाडौ : काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल निर्वाचित भएका छन्। उनले नेकपा एमालेका ईश्वर पोखरेललाई पराजित गरेका हुन्।

यहाँको अन्तिम मतपरिणाम आउन बाँकी छ। पछिल्लो मतपरिणामअनुसार प्रदीपले १५२३७ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी ईश्वर पोखरेलले १०१७२ मत पाएका छन्। उनीहरूबीच ५ हजार ६५ मतको अन्तर छ। यहाँ ४५ हजार ९ सय ८७ मत खसेको थियो।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् पौडेललाई बधाई दिएका छन्।

‘काठमाडौ क्षेत्र नम्बर ५ को निर्वाचन परिणाम भर्खरै सार्वजनिक भएको छ र श्री प्रदीप पौडेलजी विजयी बन्नुभएको अनौपचारिक घोषणा गरिएको छ। यस अवसरमा उहाँलाई बधाई भन्न चाहान्छु,’ पोखरेलले लेखेका छन्।

उनी अगाडि लेख्छन्, ‘निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासितको सम्बन्ध/ सम्पर्कलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सधैँ उच्च प्राथमिकतामा राख्ने, पारदर्शी जीवनशैली अपनाउने र निरन्तर देश हित र जनताका काममा क्रियाशील बन्ने मार्गमा पूर्ववत लागिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु!’