नेमकिपाको गढ भक्तपुर–१ मा कसरी लियो एमालेले अग्रता ?

भक्तपुर : प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको जारी मतगणनामा भक्तपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका नवराज गेलालले ६ हजार ८१७ मत पाएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धीका रुपमा नेमकिपाका प्रेम सुवालले ५ हजार २५९ मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीको गढको रुपमा एमालेले किन अग्रता लिएको छ त ? यसको कारण हो सुरुमा चाँगुनारायण नगरपालिका क्षेत्रको मतगणना हुनु, जहाँ नेमकिपाको तुलनामा एमालेको प्रभाव बढी छ ।

दिउँसो ४ बजेसम्म चाँगुनारायण नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म मत गणना भएको छ । वडा नम्बर ८ र ९ को गणना हुन बाँकी छ । भक्तपुर क्षेत्र नम्बर १ मा कूल ७४ हजार मत खसेकोमा यतिबेला ३४ हजार मत खसेको क्षेत्रमा गणना भइरहेको छ । जहाँ सुवाल सामान्य मतान्तरले पछि छन् ।

तर भक्तपुर नगरपालिकाको मतगणना सुरु हुने बित्तिकै आफूले अग्रता लिने नेमकिपाका उम्मेदवार प्रेम सुवालले जानकारी दिए । उनले भने–‘चाँगुनारायण क्षेत्रको मतगणना हुँदा एमालेसँग प्रतिस्पर्धा देखिएको हो । तर भक्तपुर नगरपालिकाको मत गन्ने बित्तिकै मेरो अग्रता बढ्छ । भक्तपुर नगरपालिकाको १० वडा गन्दा हामी भारी मत ल्याएर एमालेलाई पराजित गर्छौं ।’

सुवाल यसअघि २०७४ सालको निर्वाचनमा पनि भक्तपुर १ बाट विजयी भएका थिए । २०४८ सालदेखिको प्रत्येक निर्वाचनमा भक्तपुर १ मा नेमकिपाले विजय हासिल गर्दै आएको छ ।