कर्णालीका चार जिल्लामा कुन दलले कसलाई लिड गरिरहेका छन् ?

सुर्खेत : सोमबार कर्णालीका चारवटा जिल्लामा मतगणना जारी छ । जसमध्ये दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमाले, सल्यानमा नेकपा (एकीकृत समाजवादी), सुर्खेत २ मा नेपाली कांग्रेस र जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)​ले अग्रता कायम गरिरहेका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको मतगणनामा दैलेख १ मा एमालेबाट रविन्द्रराज शर्मा र समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाबीच कडा प्रतिस्पर्धा भइरहेको छ । थापा–शर्माबीच पालैपालो अग्रता लिने र पछाडि पार्ने क्रम चलिरहेको छ । पछिल्लो नतिजा अनुसार २ हजार ८५२ मत गणना हुँदा शर्माले १५२ मतान्तरले अग्रता कायम गरेका छन् । शर्माले १ हजार ३६१ मत ल्याउँदा थापाले १ हजार २०९ मत प्राप्त गरेका छन् । यस्तै राप्रपा महामन्त्री कुन्ती कुमारी शाहीले जम्मा ८१ मत मात्रै प्राप्त गरेकी छन् । यसअघि शर्मालाई थापाले लिड गरिरहेका थिए ।

यस्तै दैलेख क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता बनाएको छ । प्रतिनिधिसभातर्फको पछिल्लो मत परिणाम अनुसार ९२४ मत गन्दा कांग्रेसका दिकपाल शाही ४३९ मत ल्याएका छन ।यस्तै नेकपा एमालेका लक्ष्मी पोखरेले २०९ मत ल्याएका छन भने, राप्रपाका लोकेन्द्रराज गिरीले ५ मत ल्याएका छन ।यस्तै राष्ट्यि स्वतन्त्र पार्टिका बखत बहादुर भण्डारीले ५, नेपाल मजदुर किसान पार्टीका केसेन्द्र कार्की २१८ मत ल्याएका छन । यस मध्ये ४६ मत बदर भएको छ ।

सल्यानमा समाजवादीका उपमहासचिव एवं कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले सुरुवात देखिनै अग्रता कायम गरेका छन् । पछिल्लो नतिजा अनुसार गणना भएको ७ हजार २९८ मतमध्ये ज्वालाले ३ हजार ३१ मत प्राप्त गरेका छन् । यहाँ उनको प्रतिस्पर्धी मानिएको नेकपा एमालेका राजेन्द्रवीर राय तेस्रो नम्बरमा छन् । ज्वालालाई स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले (पुतली)ले पछ्याइरहेका छन् । शाहले १ हजार ७५० मत प्राप्त गरेका छन् । एमालेका रायले ७७६ मत पाएका छन् ।

सुर्खेत २ मा भने कांग्रेसले लगातार लिड गरिरहेको छ । पछिल्लो नतिजा अनुसार जम्मा ७ हजार ७९१ मत गणना हुँदा कांग्रेसका हृदयराम थानीले ३ हजार ८१८ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका अमृत बिसीले २ हजार ६९५ प्राप्त गरेका छन् ।

जुम्लामा भने सुरुवात देखिनै राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले लगातार अग्रता कायमै गरिरहेका छन् । १ हजार ३ सय मत गन्दा शाहीले प्रतिस्पर्धीलाई तेब्बर मतले पछाडि पारेका छन् । उनले ८६७ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २८४ मत प्राप्त गरेकी छन् । यस्तै नेकपा एमालेका रतननाथ योगीले ६६ मत प्राप्त गरेका छन् ।