७ अर्ब लगानीमा कास्कीको सिक्लेसमा बन्ने भयो केबलकार

काठमाडौं : पर्यटकीय जिल्ला कास्कीमा थप एक केवलकार परियोजना थपिने भएको छ । सिक्लेस अन्नपूर्ण केवलकार प्रालिले कास्कीको मादी गाउँपालिका सिक्लेसमा केवलकार बनाउने भएको छ ।

कम्पनीले परियोजनाको वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । प्रतिवेदनअनुसार परियोजना मादी गाउँपालिकाको वडा नं १ र २ मा फैलने छ ।

केवलकारको तल्लो स्टेसन कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ र माथिल्लो स्टेसन सोही गाउँपालिकाको वडा नं. २ मा रहने भएको छ । तल्लो स्टेसन सिक्लेस गाउँको प्वरयुम भन्ने स्थानमा रहने भएको छ । माथिल्लो स्टेसन सिक्लेसको कोरी डाँडामा रहनेछ । केवलकार ६.४१ किलोमिटर लामो रहने समेत परियोजनाले जनाएको छ । सिक्लेस गुरुङ जातिको बाहुल्य रहेको पर्यटकीय गाउँ हो ।

परियोजनाको कुल लागत ६ अर्ब ९० करोड ३७ लाख १८ हजार २४४ रुपैयाँ अनुमान गरिएको छ । आयोजना २७.९९ हेक्टर क्षेत्रफलमा बन्ने भएको छ । यसमध्ये तल्लो स्टेसनमा ७.४६ अेक्टर, बीचको स्टेसनमा २.०४ हेक्टर र माथिल्लो स्टेसनमा ५.७६ हेक्टर जमिन रहने भएको छ । टावरका लागि १२.७३ हेक्टर जमिन प्रयोग हुने भएको छ । यो केवलकार सञ्चालन अवधि ३० वर्ष तेाकिएको छ ।

काठमाडौंबाट २३० किलोमिटरको दूरीमा आयोजना रहने छ । आयोजना क्षेत्रबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्मको दूरी ३० किलोमिटरको दूरीमा रहने छ । पोखराबाट प्रस्तावित तल्लो स्टेसनसम्म कच्ची बाटोको पहुँच रहेको छ ।

तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म पैदलमार्ग रहेको कम्पनीले जनाएको छ । आयोजनाका लागि कुल ३८०१ वटा रुख र पोल काट्नु पर्ने प्रतिवेदनमा उल्लेख छ । यसरी काटिने रुख र पोलमा गुरास, कलिकाठ, लोकफ, खस्रु, फलाट, झ्यानो, वन चुलेत्रो, फिरफिरे, चाँप, उत्तिससहितका रहेका छन् । काटिएका रुखको सट्टामा आयोजनाले कानूनले तोकेको संख्यामा वृक्षारोपण गर्नुपर्छ ।

बीचमा स्टेशन, र्झन-चढ्न पनि सकिने

यो केवलकारमा नेपालमा अहिले सञ्चालित केवलकार भन्दा फरक बीचमा समेत स्टेसन रहने भएको छ । जहाँ यात्रु र्झन र चढ्न पनि सक्ने भएका छन् । तल्लो र माथिल्लो स्टेसनको बीचमा मादी गाउँपालिका वडा नं २ को धर्मशाला नजिकै बीचको स्टेसन रहने भएको छ । यहाँ मानिसहरु झर्न र चढ्न सक्ने भएका छन् । यो दुबै स्टेसनको बीच भागमा रहने समेत प्रतिवेदनमा उल्लेख छ ।

केवलकारमा कुल ६० वटा बक्स (गोण्डुला) रहने गरी परियोजनाको डिजाइन गरिएको छ । एउटा बक्समा ८ जनाले एक पटकमा यात्रा गर्न सक्ने छन् । प्रतिदिन ६ हजार जना (अधिकतम)ले यात्रा गर्न सक्ने क्षमताको केवलकार बन्ने समेत कम्पनीको भनाइ छ । केवलकारमा कुल ३० वटा टावर रहने भएका छन् ।

आयोजना ३.५ वर्षमा निर्माण गरिसक्ने लक्ष्य कम्पनीको छ । निर्माणपूर्वको तयारीको चरणका लागि १ वर्षको अवधि राखिएको छ । निर्माण अवधि १.५ वर्ष र वित्तीय बन्द अवधि १ वर्ष राखेर कुल ३.५ वर्षमा परियोजनाको काम गरिसक्ने प्रतिवेदनमा उल्लेख छ ।

५० जनालाई प्रत्यक्ष रोजगारी

निर्माणका चरणमा ६ सय जनाले रोजगारी प्राप्त गर्ने र सञ्चालनका दौरान ५० जना व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने आयोजनाले जनाएको छ । प्रतिदिन २ हजार किलोवाट विद्युत यस केबलकारले खपत गर्नेछ ।

कम्पनीले यो परियोजना सञ्चालनमा आएपछि सिक्लेस क्षेत्र, गण्डकी प्रदेश र राष्ट्रलाई नै पर्यटनमार्फत लाभ पुग्ने दावी गरेको छ । आयोजना सञ्चालनमा आएपछि पोखराबाट नजिकका सिक्लेस, कोरी डाँडा र अन्य क्षेत्र कापुचे तालु, मनाङ र लमजुङका पर्यटकीय क्षेत्रको समेत प्रवर्द्धन हुने आयोजनाको भनाइ छ ।

वातावरणमैत्री प्रविधिको यातायात सेवाले अन्नपूर्ण क्षेत्रको वातावरणीय संरक्षणमा समेत सहयोग पुन्ने आयोजनाको भनाई छ । आयोजना निर्माण पश्चात स्थानीय होटेल, पर्यटनसँग सम्बन्धित व्यवसाय फस्टाउने र यसले दीगो विकास, पर्यटन पूर्वाधारमा समेत सहयोग गर्ने प्रतिवेदनमा उल्लेख छ ।अनलाइन खबरबाट