चितवन : पुलचोक – गोन्द्राङ ६ लेन सडकको ५० प्रतिशत काम सकियो

निराज रानाभाट
चितवन : चितवन जिल्लाको भरतपुरमा निर्माणधिन पुलचोक – गोन्द्राङ ६ लेन सडकको ५० प्रतिशत काम सकिएको छ । भरतपुर महानगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर – हेटौंडा खण्डको उक्त सडकको काम अहिले ५० प्रतिशत सकिएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलका अनुसार ६ लेन सडकको गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलसम्म पहिलो र दोस्रो चरणको काम सम्पन्न भइसकेको छ । यस्तै , हाकिम चोकदेखि चौबीसकोठीसम्म सब बेस निर्माणको कार्य धमाधम भइरहेको छ । चौबीसकोठीदेखि पुलचोकसम्म ड्रेनको काम अघि बढेको छ ।

‘ आगामी फागुनसम्म निर्माण सम्पन्न हुनुपर्ने हो , तर केही नयाँ काम थपिएकाले समय थप गर्नुपर्ने देखिएको छ ’, उनले भने , ‘ कंक्रिटिङको काम थप भएको छ । यस्तै पर्खाल पनि थप भएको छ भने सानो ड्रेनलाई ठूलो बनाउनुपर्ने भएकाले तोकिएको समय निर्माण सम्पन्न नहुने सम्भावना छ । ’ आगामी फागुन ११ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने गरि इन्डो सगुन जेभीसँग सम्झौता गरिएको सडक विस्तारको काम अझै ५० प्रतिशत बाँकी काम युद्धस्तरमा अगाडि बढने प्रमुख पौडेलले जानकारी दिए।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ६ लेन सडकलाई गुणस्तरीय र तोकिएको मितीमा सम्पन्न गर्न अनुगमन गर्ने काम भइरहको जानकारी दिइन् । यो सडक मूख्य राजमार्गमा पर्ने भएकाले समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको उनको भनाई छ । नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गलाई बिस्तार गरि ६ लेन बनाउने काम शुरु भएको हो । जम्मा २८ महिनाभित्र विस्तार गर्नुपर्ने सडकको लागत १ अर्ब १२ करोड छ ।