भ्रष्टाचारीमाथि ‘डोजर’ चलाउने राप्रपाको इच्छा छ : लिङ्देन

काठमाडौं : राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले तीन दशकदेखि मुलुकको नेतृत्व गर्ने ठूला राजनीतिक दल र व्यवस्था असफल भएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंको वसन्तपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ठूला राजनीतिक दलको नेतृत्व र व्यवस्था नै असफल भएकाले वैकल्पिक शक्तिका रुपमा राप्रपा आएको बताए ।

‘जबसम्म नेतृत्व परिवर्तन हुँदैन तबसम्म देशले गति लिँदैन’, लिङ्देनको भनाइ छ । उनले अब पूर्ण समानुपातिक संसद, संसदले मन्त्री हुन नपाउने व्यवस्था, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारिणी प्रधानमन्त्री र अभिभावकीय रुपमा राजा रहने व्यवस्था कायम हुनुपर्ने बताए । सर्व धर्म समभाव र बैदिक सनातनसहितको हिन्दु राष्ट्र नेपाल हुनुपर्ने भन्दै उनले न्यायालयको समेत पुर्नसंरचना गर्न जरुरी रहेको बताए ।

शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने तथा स्वास्थ्य शिक्षा निःशुल्क र समान हुनुपर्ने भन्दै उनले अवसर पाए नागरिक आयोग गठन गरेर अवैद्य सम्पति जफत गर्ने घोषणा गरे । उनले बालेनले काठमाडौंको संरचनामा डोजर चलाएजस्तै ​भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा राप्रपाको रहेको बताए । ‘अवसर पायो भने राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा छ’, लिङदेनको भनाइ छ ।

अध्यक्ष लिङदेनले संसदमा आफू एक्लै भएकाले परिवर्तन गर्न नसकेको भन्दै अब आफूलाई साथी चाहिएकाले जनतालाई साथीहरू दिन आग्रह गरे । उनले राजनीतिलाई आफ्नो पार्टीले मागी खाने भाँडो नबनाउने भन्दै राप्रपाले पायो भने संसारको सबभन्दा जेठो भाषा पठाउने संस्कृत पढाउने विश्वविद्यालयको हालत सुधार्ने दावी गरे ।