संसद विघटनविरुद्ध रिट दायर गर्न विपक्षी गठबन्धनमा रहेका १४६ सांसद सर्वोच्चमा

काठमाडौं :संसद विघटनविरुद्ध रिट दायर गर्न विपक्षी गठबन्धनमा रहेका सांसदहरु सोमबार सर्वोच्च अदालत पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न समर्थन जनाएका १४९ सांसदमध्ये १४६ जना सोमबार संसद विघटनविरुद्ध रिट दायर गर्न सर्वोच्च अदालत पुगेका हुन् ।

सिंहदरबारमा भेला भई रिटमा हस्ताक्षर गरेपछि सांसदहरु सर्वोच्च अदालत पुगेका थिए । उनीहरुले देउवालाई प्रधानमन्त्री बनाउन सांसदहरुले गरेको समर्थन वैधानिक रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति नगर्नु असंवैधानिक भएको दावी गरेका छन् ।

रिट निवेदन दिन सांसदहरु सर्वोच्च अदालत परिसरमा लाइन बसेका थिए । एकैपटक ठूलो संख्यामा सांसदहरु भेला भएका, सञ्चारकर्मीको संख्या पनि धेरै रहेका कारण सर्वोच्च परिसर भिडभाडयुक्त बनेको थियो ।