मोरङको मतदान केन्द्रमा आवश्यक मतदान सामग्री पठाउन शुरु

सागर चम्लागाई
विराटनगर : मोरङमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदान केन्द्रमा आवश्यक मतदान सामग्रीहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाउन शुरु गरिएको छ ।

मतपत्र र मतदाता परिचय पत्र बाहेकका ६१ वटा सामग्रीहरु प्याकिङ् गरेर सम्बन्धित मतदान अधिकृतहरुलाई वितरण गरिने बताइएको छ । निर्वाचन सम्बन्धी तालिम पछि मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई सो मतदान सामग्री वितरण गरेर पठाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री पठाउन थालिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रदेश निर्वाचन अधिकारी लेवन कश्यप अधिकारीले जानकारी दिए ।

सियो धागो, मतदान बाकस, घेराबारा लगायतका मतदानमा प्रयोग हुने सबै सामग्रीहरु प्रत्येक मतदान केन्द्रका लागि छुट्टाछुट्टै पोका बनाइएको छ । केही निर्वाचन सामग्रीहरु आउन बाँकी रहेकोले ती सामग्रीहरु समेत निर्वाचन अधिकृतको कार्यालयमा पठाइने र कार्तिक २५ गते देखि मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम दिने तयारी गरिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

मुलुकमा सबैभन्दा बढी मतदाता र ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ३ सय ६ वटा मतदान स्थल र ८ सय ३९ वटा मतदान केन्द्रहरु रहेका छन् ।