प्रधानमन्त्री देउवा बुधबार धनगढी बसी बिहीबार गृहजिल्ला जाने

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार धनगढी जाने भएका छन् । गृहजिल्ला डडेलधुराका चुनावी आमसभामा सहभागी हुने क्रममा उनी आज धनगढी जान लागेका हुन् ।

देउवा बुधबार धनगढी बसी बिहीबार गृहजिल्ला जाने ​उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । देउवाले वाम–लोकतान्त्रिक गठबन्धन डडेलधुराले जिल्लाका सातवटै स्थानीय तहमा आयोजना गर्ने आमसभामा सम्बोधन गर्नेछन् । उनले बिहीबार जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम दिउँसो साढे १२ बजे राखिएको छ ।

यस्तै कात्तिक १८ गते बिहान नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र दिउँसो गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी सभामा कार्यक्रम रहेको वाम–लोकतान्त्रिक गठबन्धन डडेलधुराले जनाएको छ । देउवाले १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपालमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नेछन् । कात्तिक २० गते बिहान आलिताल गाउँपालिकाको गोदाम र घरेलु बजारमा तथा दिउँसो परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

देउवाले प्रचारप्रसारमा जानका लागि निर्वाचन आयोगसँग अनुमति लिएका छन् । देउवाविरुद्ध लामो समय देउवाकै स्वकीय सचिव रहेका नेपाली कांग्रेस (बीपी) वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत आठ उम्मेदवार मैदानमा छन् । देउवा सातौँ पटक डडेल्धुराबाट निर्वाचन लड्न लागेका हुन् । यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा विजयी भएका थिए । उनले २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि चुनाव जितेका थिए ।