मनहरी ४ मा गठबन्धनकाे अगुवा कार्यकर्ता भेला

हेटौंडा : लोकतान्त्रिक बाम गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी वडा तथा टोल तहमा कार्यकर्ता भेलालाई तीव्रता दिएको छ ।

चुनावी अभियानको क्रममा मंगलबार मकवानपुरको मनहरी गाउँपालिका ४ मा अगुवा कार्यकर्ता भेला तथा गठबन्धन दलको संयुक्त कार्यालय उद्घाटन गरिएको छ ।

नेपाली कांग्रेस मनहरी ४ वडा सभापति आईतसिं तितुङको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बाेल्दै बानियाँले ठूलाे संघर्ष र त्यागबाट मुलुकमा व्यवस्था परिवर्तन भएकाे स्मरण गर्दै अब जनताको अवस्था परिवर्तन आवश्यक रहेकाे ओैंल्याए ।

मुलुककाे विकास र समृद्धिका साथै जनताकाे हितमा काम गर्न लाेकतान्त्रिक बाम गठबन्धनबाट मात्र सम्भव भएकाे भन्दै उनले अबकाे निर्वाचनमा आफुहरुलाई विजयी गराउन उनले आग्रह गरे ।

एमाले अध्यक्ष ओली संविधान र व्यवस्था मास्न उद्घत रहेकाे भन्दै उसले जितेर पनि मुलुककाे हित गर्न नसक्ने बानियाँकाे दावी थियाे ।

जनआन्दोलनमा मान्छे मार्ने कमल थापा, राजतन्त्र ब्युताउँन खोज्ने राजेन्द्र लिङदेल र देश टुक्र्याएर भारतमा विलय गराउँछु भन्दै हिँड्ने सिके राउत जस्तासँग मिलेर संविधान र व्यवस्था मास्न ओलीले साँठगाँठ गरेकाे उनले बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देल, कांग्रेस मकवानपुर २ ख का सभापति रञ्जन कालाखेती, माओवादी केन्द्र मनहरी गापा कोषाध्यक्ष ध्रुव खड्का, एमालेबाट कांग्रेसमा नवप्रवेशी सानुकान्छा तितुङ, स्थानीय सुरज थिङ्गलगायतले मन्तव्य व्यक्त गरेका थिए ।