वागमतीको लगातार दोस्रो हार, प्रदेश १ को पहिलो जित

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा वागमती प्रदेशले प्रदेश १ सँग ६९ रनको हार ब्यहोरेको छ । समूह बीमा रहेको वागमतीको यो लगातार दोस्रो हार हो भने प्रदेश १ को पहिलो जित हो ।

३०५ रनको लक्ष्य पछ्याएको वागमती ४५.५ ओभरमा २३५ रनमै समेटियो । वागमतीका लागि नन्दन यादवले ४७ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ४३ रन बनाए ।

ओपनर ब्याटर इशान पाण्डेले ३५ रन जोडे । उनले ६१ बल खेल्दै २ चौका प्रहार गरे । अशुतोष घिरैया ले १४ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २७ रन बनाउँदा क्याचआउट भए । प्रतिस जिसीले १२ रनमात्र बनाउन सके ।

बलिङतर्फ प्रदेश १ का लागि तीव्र बलर फिर्दाेस अन्सरीले सर्वाधिक ३ विकेट लिए कप्तान सिद्धान्त लोहनी, दिपक जोशी, , श्रवण यादवले समान २–२ विकेट लिए भने लव कमाटले १ विकेट लिए ।

यसअघि त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले ओपनर अंकित सुवेदीको शतक सहयोगमा ९ विकेट गुमाएर ३०४ रनको योगफल खडा गरेको थियो ।

अंकितले १३४ बलमा ११० रन बनाएर इशान पाण्डेबाट क्याच भए । ठूलो शट खेल्ने चक्करमा उनी बाउन्ड्रीमा पाण्डेबाट क्याच भएका हुन् । अंकितले १२ चौका र १ छक्का प्रहार गरे । उनका अलावा कप्तान सिद्धान्त लोहनीले ७२ रनको विष्फोटक पारी खेले । सिद्धान्तले ४० बलमा ३ चौका र ८ छक्का प्रहार गरे । यी दुईले छैटौं विकेटका लागि १३१ रनको शतकीय साझेदारीसमेत गरेका थिए ।

त्यस्तै आनन्द मेहताले ३०, सोनु अन्सारीले १९ र निरज मुखियाले प्रदेश १ को खातामा १० रन थपे । बलिङतर्फ वागमतीका रामनरेश गिरीले सर्वाधिक ५ विकेट लिएका थिए । सूर्य तामाङ, प्रतिश जिसी, इशान पाण्डे र नन्दन यादवले १–१ विकेट लिए ।

समूह बीमा वागमती र प्रदेश १ यसअघि नेपाल पुलिससँग पराजित भएका थिए । वागमतीले पहिलो खेलमा १९२ रनको हार ब्यहोरेको थियो । प्रदेश १ पनि पुलिससँगै ७ विकेटले पराजित भएको थियो । वागमतीले अब कर्णाली र लुम्बिनी टिमसँग खेल्न बाँकी छ । लगातार दुई हारपछि समूहको शीर्ष दुईमा रहेर सेमिफाइनल पुग्ने वागमतीको सम्भावना कमजोर हुन थालेको छ ।