तोसिमा र ‘नो, नट अगेन’का मुद्दा न्यायाधीश चुडालको इजलासमा

काठमाडौं : निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको विरूद्ध डाक्टर तोसिमा कार्कीले दिएको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासमा उक्त रिटको सुनुवाइ हुने भएको हो।

फेसबुक पेज र ग्रुप ‘नो, नट अगेन’ माथि प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयविरूद्ध परेको रिट पनि उनकै इजलासमा सुनुवाइ हुने भएको छ। ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्हबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी कार्की लाभको पदमा रहेको भन्दै आयोगले गत शनिबार उनको उम्मेदवारी खारेज गरिदिएको थियो।

उक्त निर्णयविरूद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दिएकी थिइन्। ‘नो, नट अगेन’ क्याम्पियन चलाउने अभियान्ताहरूलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्देशनविरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।