
काठमाडौं : नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको थियो ।
भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताएको उनको सचिवालयले जानकारी दिएको छ ।
अध्यक्षले भने, ‘नेपाल र अमेरिकबीच वर्षौदेखिको मित्रता रहेको छ । तपाईको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु ।
’ भेटका अवसरमा अध्यक्षले आफूहरू मुलुकको आर्थिक सम्बृद्धिको अभियानमा रहेको बताउँदै यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताए।
राजदूत आर थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँदा खुसी लागेको बताए ।
उनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरुको सहयोग निरन्तर रहने विश्वास दिलाए ।
राजदूतले ७५ वर्षदेखिको नेपाल अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाई लिने विश्वास व्यक्त गरे।
