उम्मेदवारलाई फसाउने नियतले पनि उजुरीहरू आए : आयुक्त भण्डारी

काठमाडौं : निर्वाचन आयोगमा केही उजुरीहरू उम्मेदवारलाई फसाउने नियतका साथ आएको पाइएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरीहरू अरूलाई फसाएर फाइदा लिने गरी झुटा विवरणहरूसहित आएको बताएका हुन् ।

 कुराकानीमा उनले आयोगमा सोसम्बन्धी १५० वटा उजुरी रहेको र करिब ५० वटा उजुरी भने कारबाहीका लागि योग्य रहेको स्पष्ट पारे । निर्वाचन आयुक्त भण्डारीले विगतको निर्वाचनहरूमा भन्दा अहिले हुन गइरहेको निर्वाचनमा आचारसंहिता उलंघनको घटना कम देखिएको समेत बताए ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको उलंघनको घटनाको उजुरीमाथि छानबिन गर्ने क्रम जारी रहेको पनि जनाएको छ । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उलंघन हुन नदिने गरी अनुगमनको आवश्यक व्यवस्था मिलाइएको पटकपटक दोहोर्याए ।