काठमाडौंबाट चार्टर्ड उडान बन्द , रुपन्देहीको भैरहवाले पायाे ‘ बिजनेस ’

निराज रानाभाट , रुपन्देही : सरकारले अब त्रिभुवन विमानस्थलमा हवाई जहाजमार्फत हुने चार्टर्ड उडान प्रतिबन्ध गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले रुपन्देही जिल्लाको भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च उठाउनु पर्ने भन्दै त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडान गर्न नदिने निर्णय गरेको हो । यसले त्रिभुवन विमानस्थलको बिजनेस भैरहवाले पाउने भएको छ ।

सञ्चालन खर्च समेत नउठेपछि प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विन्टर सिजनमा त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडानको अनुमति नदिने निर्णय गरेको सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

त्रिभुवन विमानस्थलको ट्याक्सी – वे विस्तारको काम पनि गर्नुपर्ने भएकाले सकेसम्म भैरहवामा अन्तर्राष्ट्रिय उडानहरु लैजान खोजिएको उनको दावी छ ।

यसअघि प्राधिरकणले विदेशबाट आउने चार्टर्ड उडान भैरहवा पठाउन शुरु गरिसकेको थियो ।

प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई उडान तालिकामा भैरहवाबाट पनि उड्न बाध्यकारी गराउने गरि त्रिभुवन विमानस्थलबाट हुने केही उडान कटौती गरिदिएको छ ।

प्राधिकरणले कार्तिक १३ गते , आइतबार ( अाज ) देखि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ – २ वटा अन्तर्राष्ट्रिय उडान भैरहवाबाट गर्न बाध्यकारी व्यवस्था गरेको छ ।

दैनिक ३ भन्दा बढी उडान गर्ने वायुसेवा कम्पनीले पुरानो गन्तव्यमा थप उडान गर्न भैरहवाबाटै उड्नु पर्ने नियम बनाइएको छ ।

विदेशी वायुसेवा कम्पनीलाई भने १५ डिसेम्बरसम्म भैरहवमा उडान भर्ने तालिका बनाउन समय दिइएको छ ।

यस्तो उडान नगरेमा त्रिभुवन विमानस्थलबाट उडान गर्न नदिने निर्णयअनुसार आइतबार ( अाज ) नेपाल एयरलाइन्सको दिल्ली उडान रोकिदिएको छ ।