मतदाताको अपार माया छ, जित्नेमा ढुक्क छु : धर्मराज जोशी

कञ्चनपुर : कञ्चनपुर ३ ‘१’ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार धर्मराज जोशीले यसपटक जनमत आफ्नो पक्षमा रहेको बताएका छन् ।

उनले घरदैलो कार्यक्रममा जनताले अपार माया र स्नेह देखाएकाले आफ्नो जित सुनिश्चित रहेको दावी गरे।

भिमदत्त नगरपालिकाका विभिन्न ठाउँहरुमा जाँदा जनताले आफूले आजभन्दा ३० वर्षअघि गरेका कामको प्रशंसा गरेको भन्दै फेरि मत दिन्छौं भनेको जोशीले बताए।

“मैले तत्कालीन महेन्द्रनगर हालको भिमदत्त नगरपालिका क्षेत्रमा बिभिन्न विकासका कामहरु गरेको छु, यो नगरका प्रत्येक वडाहरूमा बिद्यालयको जग बसाल्ने कामको शुरुवात मैले गरेको हु,” उनले भने।

प्रधानपञ्च हुँदा शिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने सपना अहिले साकार भएको जोशीले बताए ।

आफ्नो कार्यकालमा यस क्षेत्रमा थुप्रै विकासका पूर्वाधारहरु तयार भएका उनको भनाइ छ । उनले भने “यो क्षेत्रका प्रत्येक वडामा विद्यालय, स्वास्थ्यचौकी, मन्दिर, पाटी पौवा होस, चाहे राजमार्गबाट उत्तरतर्फका हरेक वडाहरुलाई सडक संजालले जोड्ने काम भन्नुस् त्यो शुरुवात गर्ने काम मैले गरेको हु । जुन आज पनि यस क्षेत्रका जनताले स्मरण गरेको देख्दा आफू उत्साहित भएको छु।”