कैलालीको चौमालाका छ पसलमा आगलागी हुँदा १ करोड १३ लाख बराबरको क्षति

कैलाली : कैलालीको चौमाला बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ।

प्रहरी र म्यादि प्रहरी समेतको टोलीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताइएको छ।

आगलागीमा जम्मा क्षति १ करोड १३ लाख ५० हजारको भएको प्रहरीले बताएको छ।

गौरीगंगा नगरपालिका १ चौमाला बस्ने बिष्णु कुमार पाण्डेको लुम्बिनी होटलमा १ लाख ५० हजार बराबरको क्षति भएको छ भने, जयसिंह भण्डारीको भण्डारी किरानामा १५ लाख, पारस सापकोटाको बहराय मोबाइल ग्यालरीमा १० लाख, हिमाल पुन मगरको हिमाल मोबाइल ग्यालरीमा १२ लाखको क्षती भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

यस्तै सोही ठाउँका छविलाल खनालको पशुपती डम्मरा सप्लायर्समा ४५ लाख बराबरको क्षति भएको छ भने टंक प्रसाद आचार्यको आचार्य शु सेन्टरमा ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको गौरीगंगा नगरपालिका–१ स्थित चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीबाट आगलागी सुरु भएको थियो।

उक्त मोबाइल ग्यालरीसँगै ६ ओटा पसलमा आगलागी भएको प्रहरीले जनाएको छ।