रोटरी र रोट्रयाक्टले आयोजना गर्यो ट्राफिक प्रहरी संग तिहार कार्यक्रम


चाडवाड नजिक आउँदा सबैतिर विदा हुन्छ, विद्यालय, कलेज जस्ता शैक्षिक संस्थामा त विदा हुने नै भयो निजामती कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी सबैले विदा पाउँछन् । चाडवाड परिवार विच बसेर रमाइलो गरेर मनाउँछन् । तर स्वास्थ्यकर्मी, संचारकर्मी तथा सुरक्षाकर्मीको पेशा कै कारणले ठुला ठुला चाडवाडमा पनि विदा पाउदैनन्, ड्युटीमा जानु पर्छ ।
प्रहरी तथा ट्राफिक प्रहरीलाई यो चाडवाडको बेला अझ चनाखो र सर्तक हुनु पर्ने दायित्व थपिन्छ । ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गरिरहेको छ, यो वर्षका दशैं तथा तिहारमा उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’को व्यवस्था गरेको छ ।
ट्राफिक प्रहरीले चाडपर्वका अवसरमा उपत्यकाका विभिन्न स्थानमा नियमित जाँच, मापसे जाँच, सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरेको छ । ट्राफिक प्रहरीले छतमा यात्रुहरु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रुहरु राख्न नदिने, सवारीसाधनको अवस्था जाँच गर्ने, यात्रलेु अपनाउनु पर्ने सुरक्षा सावधानीबारे जानकारी गराइरहेको छ भने चालकको अवस्था जाँच गर्ने, सुरक्षा सचेतनासम्बन्धी कार्यक्रम गर्ने, सवारीसाधनमा जिङ्गल बनाएर सुनाउने, बढी भाडा लिने सवारीसाधनलाई कारबाही गर्ने, लागुपदार्थ सेवन जाँच गर्ने कार्यलाई चाडबाडको बेला अझ प्रभावकारी ढंगले काम गरेको छ भने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष समेत स्थापना गरेर सेवा प्रवाह गरिरहेको छ ।


कार्यालयले विभागको सहकार्यमा राजधानीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाति, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखेको छ जहाँबाट राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुहरुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय भइरहेको छ ।


यसरी चाडबाडको बेला ट्राफिक प्रहरीले निभाएको भूमिका तथा ट्राफिक प्रहरीको नागरिक प्रतिको सेवाभावलाई कदर र प्रोत्साहन गर्दै रोटरी क्लव अफ राजधानी, रोट्रयाक्ट क्लव अफ राजधानी तथा रोट्रयाक्ट क्लव अफ बानेश्वर रोयलले विभिन्न सडक र चोकमा अहोरात्र सेवामा खटिएका ट्राफिक प्रहरीलाई भाईमसला उपहार सहित सम्मान गरेको छ ।
उपत्यकाका विभिन्न सडक र चोकहरुमा पुगेर रोटरी क्लव अफ राजधानीका पदधिकारी तथा रोट्रयाक्ट क्लव अफ राजधानी तथा रोट्रयाक्ट क्लव अफ बानेश्वर रोयलका रोट्रयाक्टरहरुले सेवामा खटिएका ट्राफिक प्रहरीहरुलाई तिहारको शुभकामना सहित भाइमसला वितरण गरेका थिए । आँफू खटिएकै सडक र चोकहरुमा आएर आफ्नो कार्यको प्रशंसा सहित शुभकामना स्वरुप भाइमसला पाउँदा ट्रफिक प्रहरीहरुले खुसी व्यक्त गरेका थिए भने अझ सक्रिय भएर जनसेवामा जुट्न मनोवल बढेको बताएका थिए ।


रोटरी क्लव अफ राजधानीका प्रिसिडेन्ट निश्चल बहादुर श्रेष्ठ आँफै सडक र चोकहरुमा पुगेर ट्राफिक प्रहरीलाई उनीहरुको कामको प्रशंसा सहित तिहारको शुभकामना बाँढेका थिए । काठमाडौँ उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको अभाव , सिमित साँघुरा सडकहरू , सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलंघन गर्ने प्रवृतिका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतिपुर्ण बन्दै गएको र चाडवाडको बेलामा अझ यी र यस्ता कार्यहरु प्रति ट्राफिक प्रहरी सजक र सतर्क भएर सेवा प्रवाह गरेकोमा सेवामा खटिएका ट्राफिक प्रहरीलाई हौसला र उत्साह थप्न क्लवको पहलमा ‘ट्राफिक प्रहरी संग तिहार’ कार्यक्रम संचालन गरेको उनले बताए ।


तथा रोट्रयाक्ट क्लव अफ बानेश्वर रोयलका प्रिसिडेन्ट लावन्ड श्रेष्ठ आफ्नो टिम सहित विहान देखि दिउँसो सम्म सडक, सडकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई शुभकामना सहित भाइमसला वितरण गरेका थिए, ट्राफिक प्रहरी को परिश्रम हाम्रै लागि हो भन्ने मनन गर्दै ट्राफिक प्रहरीले निभाएको भूमिकालाई सम्मान गर्न तिहारको बेला यो कार्यक्रम आयोजना गरेको प्रिसिडेन्टद्धय कर्म गुरुङ तथा लावन्ड श्रेष्ठले बताए ।


महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक (डि.एस्पी) सन्तोष खड्का संग समन्वय गरि यो कार्यक्रम आयोजना गरिएको रोट्रयाक्ट क्लव अफ राजधानीका प्रिसिडेन्ट कर्म गुरुङले बताए ।