सालिकहरुको देश (कविता):बाबु त्रीपाठी

कहिलेसम्म
तिमी सरकारमा बस्छौ
र, चेतनामाथि
कफ्र्यू लगाइरहन्छौ ?

घण्टाघरको
ब्याट्री सकिएको छ
कहिले फेर्छौ ?
कहिले फेर्छौ
इज्जत लुटिनेकै
दोष देखाउने यो कानुन ?
यसरी
कहिलेसम्म
हामीलाई अँध्यारोमा राख्छौ
र, उज्याला कुराहरू गरिरहन्छौ ?
तिमी
कहिले बाँड्छौ
अलिकति सद्भाव
अलिकति मुस्कान
अलिकति सन्तोष
हाम्रा बस्तीतिर ?
तिमी
कहिलेसम्म उभिन्छौ
दोबाटोमा सालिक बनेर ?
र, यो सालिकहरूको देशमा
म मानिस हुँ भनेर
तिमी आफूलाई कसरी प्रमाणित गर्छौ ?

(सालिकहरुको देश २०६९बाट)