

डडेल्धुरा : नेकपा एमाले डडेल्धुराले नेपाली कांग्रेस (वीपी) सँगको चुनावी तालमेल तोडेको छ । एमालेले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी डडेल्धुरामा कांग्रेस (वीपी) सँगको चुनावी गठबन्धन भंग गरेको जनाएको हो ।
वीपी कांग्रेसले सहमतिविपरीत प्रदेशसभा २ मा एमाले उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेकाले चुनावी तालमेल भंग गरिएको एमाले डडेल्धुराका जिल्ला अध्यक्ष प्रकाशबहादुर साउदले जानकारी दिएका छन् ।
जिल्ला कमिटीको शुक्रबार बसेको पूर्ण बैठकले तालमेल भंग गर्ने निर्णय गरेको अध्यक्ष साउदले बताए । प्रतिनिधिसभामा वीपी कांग्रेसका वरिष्ठ उपाध्यक्षसमेत रहेका कर्णबहादुर मल्ल र प्रदेशसभा १ मा एमालेका उम्मेदवार पठानसिंह बोहरा तथा प्रदेशसभा २ मा एमालेकै गजेन्द्र शाहीलाई समर्थन गर्ने गरी एमाले र वीपी कांग्रेसबीच सहमति भएको थियो ।
यसअघि वीपी कांग्रेससँग तालमेल गर्नकै लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएका चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएका थिए । प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदवार छन् । दुईवटा क्षेत्र रहेको प्रदेशसभामा १२ जनाको उम्मेदवारी छ ।
