भारी वर्षाले पदमार्गमा पहिरो : ७ सय पर्यटक र गाइड अलपत्र

काठमाडौं : अन्नपूर्ण, धौलागिरि र मनास्लुलगायत हिमाली क्षेत्रमा भारी वर्षाका कारण पदमार्गमा पहिरो जाँदा कम्तीमा ७ सय स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेका छन् ।

ट्रेकिङ्ग एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अनुसार, जोमसोम, धौलागिरि, मनास्लु र अन्नपुर्ण क्षेत्र पदयात्रामा गएका कम्तीमा ७ सय जना विदेशी तथा नेपाली वर्षाका कारण सडक तथा पदमार्गमा पहिरो जाँदा अलपत्र परेका हुन् । टानका अनुसार, सेप्टेम्बर महिनामा मात्रै करिब २८ सय वटा पदयात्रा अनुमति कार्ड (टिम्स कार्ड) जारी भएका थिए । टानबाहेक पर्यटन बोर्डले पनि टिम्स जारी गर्ने गरेको भएपनि बोर्डले बिक्री गरेको टिम्स कार्डको संख्या खुलेको छैन् ।

लुक्ला र खुम्बु क्षेत्र जाने २ हजार पर्यटक तथा नेपाली गाइड रामेछापमा अलपत्र परेको बताइएको छ । तीमध्ये आइतबार कम्तीमा ३ सय जना काठमाडौं फर्किएका छन् । यसैबीच मनास्लुबाट आइतबार कम्तीमा १ सय २० जना हेलिकप्टरले उद्धार गरेर काठमाडौं ल्याइदिएको टानले जनाएको छ ।

टानका अनुसार वर्षा र पहिरोका कारण अलपत्र पर्नेमा अधिकांश फ्रेन्च नागरिक छन् । ढोरपाटनमा ४ जना नेदरल्यान्डका नागरिक र ७ जना नेपाली हराइरहेको बताइएको छ । उनीहरुको खोजीकार्य जारी रहेको बताइएको छ ।