प्रतिकूल मौसमका कारण पोखरामा सबै उडान रद्द

काठमाडौं : बिहीबार प्रतिकूल मौसमका कारण काठमाडौंबाट पोखरामा हुने र पोखराबाट अन्य विमानस्थलमा हुने सबै उडान रद्द भएका छन् ।

काठमाडौं विमानस्थलसहित नजिकका विमानस्थल निरन्तरको वर्षाका कारण बढी प्रभावित भएको छ । जसले गर्दा भरतपुरका उडानहरु समेत प्रभावित भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् ।

बुद्ध एयरले बिहीबारका लागि पोखरामा निर्धारित सबै उडान रद्द भएको जानकारी गराएको छ ।

कम्पनीका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार पोखराबाट काठमाडौंबाहेकका अन्य विमानस्थलमा भइरहेको उडान समेत बिहीबार रद्द हुन पुगेको छ ।

दशैंमा टिका लगाउन घर गएका मानिसहरु जहाजमा फर्कने भएकाले अहिले बाहिरबाट काठमाडौं आउने उडानमा बढी चाप हुन्छ ।

काठमाडौंबाट बाहिर जाने यात्रुको चाप तुलनात्मक रुपमा कम हुने कर्णले जानकारी दिए ।