चितवनमा दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागु

निराज रानाभाट
चितवन : चितवन जिल्लामा पर्ने राजमार्ग भएर चल्ने यात्रुबाहक सवारीसाधनमा असाेज १४ गते , शुक्रबार ( आज ) देखि टाइम कार्ड लागू गरिएको छ । तीव्र गतिका कारण दुर्घटना बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्ड लागू गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार तीव्र गतिमा चल्ने यात्रुबाहक बस , मिनीबस , माइक्रो र टिपरबाट हुने दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू गरिएको हो । टाइम कार्ड ५ स्थानबाट कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए । चितवनको लोथर , गोन्द्राङ , आँपटारी , मुग्लिन र मैवा खोलाबाट टाइम कार्ड कार्यान्वयनमा ल्याउन लागिएको हो । चितवन जिल्लामा पर्ने नारायणगढ – मुग्लिन सडक खण्डसहित ९३ किलोमिटर राजमार्गमा प्रतिघण्टा ४० किलोमिटरका दरले टाइम कार्ड कार्यान्वयनमा ल्याइएको हो ।

लोथरदेखि गोन्द्राङसम्मको ३० किलोमिटरका लागि ५० मिनेट , गोन्द्राङदेखि आँपटारी ७ किलोमिटरका लागि १० मिनेट , आँपटारीदेखि मुग्लिन ३४ किलोमिटरका लागि १ घण्टा , गोन्द्राङदेखि मुग्लिन ४१ किलोमिटरका लागि १ घण्टा ५ मिनेट र मुग्लिनदेखि मौवा खोलासम्मको १६ किलोमिटरका लागि २५ मिनेटको समय राखिएको अधिकारीले जानकारी दिए ।

उनले भने , “ हरेक स्थानमा चेकपोष्ट रहने छ । त्यहाँ गएर इन्ट्री गरेर मात्रै सवारीसाधनलाई अघि बढ्न दिइने छ । ” तोकिएको समयभन्दा छिटो आउने सवारी साधनलाई कारबाही गरिने उनले जानकारी दिए । सवारी साधन लापर्बाही गरी चलाएकामा कारबाही हुने उनले बताए ।

उनले भने , “ टाइम कार्ड लागू भएसँगै राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिएका छौँ । ” टाइम कार्डको शुक्रबार ( आज ) चितवनकाे लोथरदेखि शुभारम्भ गरिएको अधिकारीले बताए ।