रुपन्देही : तीन वर्षदेखि थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा

निराज रानाभाट
रुपन्देही : लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस असाेज १३ गते , बिहीबार ( आज ) देखि सञ्चालनमा आएका छन् । बडा दशैंको अवसर पारेर लुम्बिनी विकास कोषले बिहीबार ( आज ) देखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा ल्याएको हो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी , प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे , कोषका कोषाध्यक्ष सिद्विचरण भट्टराईले शुभारम्भ गरेका हुन् । ५ वटा विद्युतीय बस लुम्बिनी एयरपोर्ट बेलहिया हुँदै रामग्राम , लुम्बिनी एयरपोर्ट हुँदै बुटवल गोलपार्क , लुम्बिनीबाट तिलौराकोट साइट परिक्रमा , लुम्बिनी वरिपरि सटल बस , लुम्बिनीबाट एयरपोर्ट बेलहिया मणिग्राम हुँदै देवदह रूटमा गाडी चल्ने छन् ।

होटल एशोसिएशन , नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरी , कोषका तर्फबाट १/१ बसका लागि चालकको जिम्मेवारी लिएका छन् । कम्तीमा १५ दिनसम्म नै यो सेवा सञ्चालन गरि परीक्षणकाल सकेर औपचारिक शुरु गर्ने कोषका कोषाध्यक्ष भट्टराईले जानकारी दिए ।

कोषको सचिवालय बैठकले बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा ३ सदस्यीय परीक्षण एकाइ पनि गठन गरेको छ । यसअघि कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा गठित कार्यदलले विद्युतीय बस सञ्चालनका लागि कार्यविधि बनाएर कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई बुझाइसकेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले पर्यटन दिवसमा विद्युतीय गाडी तुरून्त सञ्चालन गर्न निर्देशन दिएपछि हरियो नम्बर प्लेटका लागि प्रदेश पर्यटन मन्त्रालयले सहमति दिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा लुम्बिनीलाई विशेष प्राथमिकता दिएर एसियाली विकास बैंकको सहयोगमा लुम्बिनीमा बिजुली बस ल्याइएको थियो ।

सञ्चालनको मोडालिटी तय गर्न नसक्दा यी बिजुली गाडी विगत ३ वर्षदेखि थन्किरहेका थिए । बस खरिद हुनुभन्दा अगाडिदेखि नै लुम्बिनी विकास कोषले यसको सञ्चालनको मोडालिटी बनाउन निजी क्षेत्रका यातायात व्यवसायीलाई समेत बोलाएर छलफल गरेको थियो ।

बडा दशैंको अवसर पारेर तत्कालका लागि बस सञ्चालन गर्ने तयारी गरिए पनि लुम्बिनी विकास कोषले बस सञ्चालनका लागि दीर्घकालीन कार्यविधि भने अझै टुङ्ग्याएको छैन ।

यसअघि प्रमुख जिल्ला अधिकारी पाण्डेको अध्यक्षतामा भैरहवामा बसेको लुम्बिनी विकास कोष , स्थानीय पालिका , यातायात कार्यालय , उद्योगी तथा पर्यटन व्यवसायीका सङ्घसंस्थाको बैठकले बिहीबारदेखि नै तत्काललाई ५ बस सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

तत्कालका लागि ५ वटा बस विभिन्न रुटमा चलाउने र आवश्यक चालक नेपाली सेना , नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको थियो । थन्किएका बस निःशुल्क रूपमा सञ्चालनमा आएसँगै चाडपर्वका बेला आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुग्ने विश्वास लिइएको उनले बताए ।

मङ्गलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दशैंको उपलक्ष्यमा केही दिन चार्जिङ स्टेशन र गाडीको मेसेरेनरी परीक्षणस्वरूप अफिसियल यान्त्रिक परीक्षणका लागि बिजुली गाडी सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए । रु. १२ करोडका ५ वटा बस र १४ वटा भ्यान ( ट्याक्सी ) एडिबीले ३ वर्षअघि दिएको थियो ।

अहिले सबै गाडी कोष परिसरको विद्युतीय बसपार्कमा थन्किएका छन् । गाडी चार्ज गर्न लुम्बिनीमै २ वर्षअघि सोलार प्लान्टसमेत जडान भएको छ । बस सञ्चालन नहुँदा त्यो परियोजनासमेत खेर गइरहेको छ । गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनी घुम्ने पर्यटकको सङ्ख्या उल्लेख्य बढ्ने प्रक्षेपण गर्दै सरकारले एडिबीसँग विद्युतीय बस अनुदान सहयोगका लागि पत्र लेखेको थियो ।