
काठमाडौं : मंसिर ४ को प्रतिनिधिसभा चुनावका लागि पर्यटन व्यवसायी रमेश ओझाले भोजपुरबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । भोजपुर नगरपालिका-११ आम्तेकका ओझाले लौरो चिन्हबाट चुनाव लड्ने तयारीका साथ प्रचारप्रसार थालेको बताए ।
जिल्लामा पटकपटक टेस्टेड उम्मेदवारका कारण जनताले विकास र परिवर्तनको महसुस गर्न नसकेकाले नयाँ अनुहारको खोजी गरेको उनको दाबी छ । सुरूमा एमालेमा रहेका उनी पछिल्लो समय नेकपा माओवादी केन्द्रमा आवद्ध थिए । ७४ मा संघको लागि सिफारिस भएपनि सुदन किराती सारिएपछि ओझा पछि हट्नुपरेको थियो । त्यसबेला किरातीलाई चुनावी खर्चका लागि ओझाले निकै मद्दत गरेको उनको पारिवारिक स्रोतले बताएको छ ।
स्वतन्त्रको उम्मेदवारीमा गठबन्धनका केही असन्तुष्टहरूको सपोर्ट रहेको स्रोतले बताएको छ । ओझाका कारण संघमा लड्ने मुख्य दलका उम्मेदवारको मत प्रभावित हुने आँकलन गर्न थालिएको छ ।
