काभ्रेको भुम्लु गाउँपालिकाको सुनकोसी नदीमा सेटिङ मिलाएर अबैध उत्खनन्

प्रशासन र स्थानीय सरकारको साथ

श्रीकृष्ण पहरी
काभ्रेपलाञ्चोक :कोरोना महामारीको दोश्रो लहर चलिरहँदा काभ्रे जिल्लाको भुम्लु गाउँपालिकामा ‘सेटिङ’ मिलाएर दिनदहाडै अवैध रुपमा बालुवा उत्खनन् भइरहेको पाइएको छ ।भुम्लु गाउँपालिकाको क्षेत्रमा पर्ने सुनकोसी नदी (दोलालघाट–बिमिरे) क्षेत्रमा अहिले अवैध रुपमा बालुवा उत्खनन् भएको पाइएको हो ।

भुम्लु गाउँपालिकाले आफ्नो क्षेत्र अन्तर्गत पर्ने सुनकोसी नदीको किनार (दोलालघाट–बिमिरे)मा बालुवाको टेन्डर आह्वान गरिएको थियो । जसअन्तर्गत् आँपघाट बगर, आमथली बगर, बाँधबगर, डुम्रे बगर, पशुपति बगर, डडुवा बगर, ज्याम्दि बगर र सिलामे बगर गरि आठ ठाउँमा टेन्डर आह्वान गरिएको थियो । शुभलक्ष्मी कन्ट्रक्सन लगायतका कम्पनीहरु र त्यहाँ अवस्थित क्रसर उद्योगहरुले टेन्डर हात पारेका थिए ।

त्यहाँ अवस्थित् अधिकांश क्रसर उद्योगहरुसँग समन्वय गरेर बाहिरी कम्पनीहरुले टेन्डर हालेको थियो । विभिन्न कम्पनीहरुसँग चर्को प्रतिस्पर्धा गरेर करोडौंमा टेन्डर हात पारेपछि हाल उक्त क्षेत्रमा सुनकोसी नदिको वाहक नै परिवर्तन हुने गरि नदिभित्रै मेसिन हालेर बालुवा उत्खनन गरिरहेका छन् ।

स्थानीयका अनुसार उच्च राजनीतिक पहुँच देखाएर प्रशासनदेखि स्थानीय तहसँगको ‘सेटिङ’ मा बालुवाको अवैध उत्खनन् भइरहेको छ । भुम्लु गाउँपालिकामा अन्तर्गत् त्रिवेणी, समनान्तर, चोक्कादेवी, कृपाश्री लगायत दर्ता भएका तथा दर्ता नभएका दर्जनौं क्रसर उद्योग तथा वासिइ प्लान्टहरु सञ्चालित छन् ।

समनान्तर क्रसर उद्योग लगायत केही क्रसर उद्योगहरुले स्थानीय सरकार संग सेटिङ गरेर केही बगरहरुमा एकलौटी टेन्डर हात पारेका थिए भने अन्य कम्पनीहरुले पनि ती क्षेत्रका क्रसर उद्योगहरु संग समन्वय गरेरै बालुवा उत्खनन गरिरहेका छन ।

भुम्लु गाउँपालिकाको सबै क्रसर अवैध 
भुम्लु गाउँपालिकाका सबै क्रसर उद्योग तथा वासिङ मेसिनहरु अवैध तथा गैरकानुनी ढंगले सञ्चालन गरिरहेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय एवं प्रदेश सरकारबाट जारी नदीजन्य पदार्थ (सङ्कलन र उपयोग)सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधिको दफा–३ बमोजिम कायम मापदण्ड विपरीत सञ्चालन भइरहेको उक्त क्रसर उद्योगहरुमा राजनीतिक दलका नेताहरुको संरक्षणमा रहेका छन ।

ढुङ्गा गिट्टी, बालुवा उत्खनन् विक्रि तथा व्यवस्थापन सम्बन्धि मापदण्ड–२०७७ अनुसार खानी जन्य पदार्थको उत्खननको लागि स्थानीय तहमा गठित प्राविधिक समितिको सिफारिस बमोजिम तोकिएको निकायबाट अनुमति लिएर मात्रै उत्खनन् गर्न पाउने व्यवस्था छ तर त्यहाँका क्रसरहरुले ती मापदण्डहरु कुनैले पनि पालना गरेको देखिदैन ।

सुनकोसीको वाहक नै परिवर्तन गरेर जेसिभि मेसिनहरु प्रयोग गरेर त्यहाँका वातावरणको स्वरुप नै परिवर्तन हुनेगरी नदिजन्य पदार्थहरु बालुवा,ढुङ्गाहरु उत्खनन गरिरहेका दृश्यहरु फोटो÷भिडियो पटकपटक विभिन्न मिडियाहरु मार्फत सार्वजनिक भएपनि स्थानीय सरकार र सरोकारवाला निकाय मौन छन ।

यदि नदिजन्य पदार्थ उत्खनन गर्न मेसिनको प्रयोग गर्नुपर्ने भएमा वातावरणीय अध्यायन प्रतिवेदनमा उल्लेखित शर्त र सिमा भित्र रहि गर्नुपर्ने हुन्छ । उक्त क्षेत्र विपद जोखिम संवेदनशील रहेको हुनाले जिल्ला विपद व्यवस्थापन समितिको अनुमतिविना उत्खननगर्न मिल्दैन तर त्यहाँ विगत लामो समयदेखि सबै काम सेटिङमा चलिरहेको छ ।

मापदण्डमा भए अनुसार घनाबस्ति र वन क्षेत्रको दुई किलो मिटर, राजमार्गको पाँच मिटर दूरी भित्रको नदि, सडक पुल तथा झोलेङ्गे पुलको एक किलो मिटर तल र पाँच सय मिटर माथिको नदीजन्य पदार्थ उत्खनन र संङ्कलन गर्न पाइने छैन । तर, यहाँ बन क्षेत्र सय मिटर अगाडिबाट बगिरहेको सुनकोशीको नदि भित्र नै मेसिन प्रयोग गरेर नदिजन्य पदार्थ उत्खनन गरिरहेका छन् ।

प्रशासन र स्थानीय सरकारको साथ
अवैध बालुवा उत्खनन् स्थानीय प्रशासन र गाउँपालिकाले साथ दिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रले यसबारे कुनै चासो देखाएका छैनन् ।

प्रशासन र स्थानीय सरकारलाई जानकारी गराउँदा कसैले चासो नदिएको कारण स्थानीय प्रशासन र स्थानिय सरकार सबैको मिलिमतोमा यी सबै भइरहेको सुनकोसी बचाउ अभियानका संयोजक विष्णु उप्रेतीले भिजन न्यूज नेपाललाइ बताए। उनले भने ‘विगत लामो समयदेखि यो क्षेत्र जोखिमपूर्ण रहेकोले टेन्डर प्रक्रिया नै रोक्न आन्दोलन नै गरे तर केही राजनीति दलका नेताहरुको ठाडो आदेशमा गाउँपालिका टेन्डर आह्वन गरियो ।’

गतवर्ष मङ्सिरमा जिल्ला प्रशासन कार्यलय काभ्रेपलाञ्चोकले जिल्लाका ३१ ओटा क्रसर उद्योगहरु मापदण्ड विपरित, बिना दर्ता सञ्चालित र नदी दोहन नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले सञ्चालनमा रोक लगाएको थियो ।

त्यतिबेला अवैध रुपमा सञ्चालन भएको क्रसर उद्योगहरुलाई केही दिन रोक लगाएर पुनः सञ्चालन गर्न दिएको थियो । अगाडि कुन उदेश्यले रोक लगायो, पछि कुन कुन क्रसर उद्योगहरुले के–के मापदण्ड पूरा गरेर सञ्चालन गर्न दियो भन्ने कुराको सबै अनविज्ञ छन् । अधिकांश नयाँ प्रशासन प्रमुख आउदा एक पटक सबै क्रसर उद्योगहरु बन्द गर्ने पछि केही सम्झौता भएपछि पुनः सञ्चालन गर्न दिने गरेको देखिन्छ ।

भुम्लु गाउँपालिकाका अध्यक्ष गमनध्वज कुवँरले भने टेण्डर प्रक्रिया अनुसार नै बालुवाटा उत्खनन् भइरहेको बताए । भिजन न्युज नेपाललाइ उनले भने, ‘टेण्डरको बालुवा खनेको हो, जसरी बालुवा खनेको भए पनि हाम्रो साथ छ, विकास निर्माणको लागि खनेको हो ।